Logo
Logo

मोरङका डिएसपी राउत तानिए


6.2k
Shares

काठमाडौं । मोरङको रानी भन्सार क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले जिम्मेवारी र भूमिकामा कमजोरी गरेपछि गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) ऋषिकेश राउतलाई कारवाहीका लागि फिर्ता गरिएको छ ।

गृहमन्त्रीले रानी भन्सारलाई संकेत गरेर सुरक्षा बैठकमा अभिव्यक्ति दिएपछि राउत कारवाहीका लागि तानिएका हुन् । उनको स्थानमा अर्का डिएसपी अमरबहादुर खत्रीलाई पठाइएको छ । रानी भन्सार आसपासको सीमा नाकाबाट अवैध चोरी पैठारी नियन्त्रण गर्न सुरक्षा संयन्त्र कमजोर बनिरहेको उजुरी सशस्त्र मुख्यालयमा पुगेपछि उनलाई फिर्ता बोलाइएको थियो । डिएसपी राउतले कमजोरी गरेको र त्यहाँबाट खुलमखुला तस्करी बढिरहेको समाचार दृष्टि साप्ताहिक र दृष्टि अनलाइनले पटक–पटक प्रकाशित गर्दै आएको थियो ।

‘सशस्त्र प्रहरी बल प्रस्तावित सीमा गुल्म रानीको गुल्मपतिलाई फिर्ता बोलाएर नयाँ गुल्मपति पठाइएको छ’,सशस्त्र प्रहरी मूख्यालयमा एक अधिकृतले भने । सशस्त्र प्रहरी बल नम्बर ३ गण मोरङले सीमा क्षेत्रबाट भइरहेको तस्करी नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको ठहर गर्दै त्यहाँका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) राउतलाई फिर्ता गरिएको स्रोतले जनाएको छ ।

सिमा सुरक्षा तथा राजस्व चुहावट नियन्त्रणका लागि परिचालित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको स्थानीय युनिटसमेतको सेटिङमा व्यापक रूपमा तस्करी हुनेक्रम बढेको सन्दर्भमा दृष्टिमा समाचार आएपछि सशस्त्र मुख्यालले गरेको सूक्ष्म निगरानीबाट उनले तस्करीलाई प्रोत्साहन दिने तथ्य फेला पारेको थियो । रानी तथा आसपासको क्षेत्रबाट भइरहेको अवैध तस्करी नियन्त्रणमा रानी गुल्मका गुल्मपतिको भूमिका अपेक्षाकृत सकारात्मक विषयमाथि बराह बाहिनी र सशस्त्र प्रहरी मूख्यालयले सूक्ष्म अनुसन्धान र छानबिन गर्ने क्रममा उनलाई सरुवा गरिएको हो । ‘समाचार आएपछि हामीले निगरानी पनि गरेका थियौ’, सशस्त्र प्रहरी बल मुख्यालयका एक अधिकृतले दृष्टिसँग भने ।

त्यसैगरी सीमा नाकाबाट हुने अबैध गवितिधि पूर्णरूपमा निस्तेज गर्ने क्रममा केही बोर्डर आउट पोस्ट (बिओपी) कमान्डरसमेत केही दिनभित्र परिवर्तन गर्ने योजना रहेको बराह बाहिनीले जनाएको छ ।

बिहीबार रातिबाटै सीमा नाकाबाट हुने अवैध तस्करी नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले रानी तथा आसपासको क्षेत्रबाट पूर्ण कडाइ गरिएको छ । यस क्रममा घरेलु प्रयोजनका लागि ठुलो परिमाणमा दैनिक उपभोग्य सामग्री ल्याउन समेत रोक लगाइएको छ ।

सिमावर्ती क्षेत्रबाट तस्करी बढेसँगै प्रादेशिक तहबाट त्यसको नियन्त्रणका लागि सशस्त्र प्रहरी बल थप सक्रियता देखाएको छ । सिमा क्षेत्रबाट तस्करीको घटना बढिरहेको र त्यसमा सुरक्षाकर्मी समेतको सेटिङ रहेको चर्चा आइरहेको समयमा कोशी प्रदेशमा केही दिन अघिमात्र आएका सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले सिमा क्षेत्रबाट तस्करी नियन्त्रण गर्ने सन्दर्भमा शुन्य सहनशीलताको अवधारणा लिएर अगाडि बढेको बताएका छन् ।

गृहमन्त्री रमेश लेखकले समेत राउतलाई लक्षित गरेर तस्करी रोक्न निर्देशन दिएको केही समयमा सशस्त्र प्रहरी १ नं बराह बाहिनीले आवश्यक छानवीनका लागि तानेको हो । अहिले बराह बाहिनीको कमाण्डर डिआइजी न्यौपाने रहेका छन् ।

यसअघि सो बाहिनीका प्रमुख शम्भू सुवेदी थिए । सुवेदीले डिएसपी राउतको संरक्षण गरेका थिए । डिआइजी सुवेदीले सोलुखुम्बूमा रहेका डिएसपी गोविन्द पोखरेललाई पनि तानेर फिर्ता पठाइदिएका थिए । उनी अहिले आफूलाई कसैले पनि छुन नसक्ने बताउदै हिड्न थालेका छन् । सुवेदीले संरक्षण गरेका राउत अहिले न्यौपानेको फेला परेका हुन डिएसपी पोखरेल बचेका छन् ।

गृहमन्त्री रमेश लेखकले प्रदेश सुरक्षा गोष्ठिमै मोरङका विभिन्न नाकाबाट हुने तस्करीको चर्चा गरेका थिए । कोशी प्रदेशमै घर भएका एसपी राजेश घिमिरेको कमाण्ड राम्रो भएपनि सीमा नाकाबाट तस्करी रोक्न उनी असफल देखिएको र रानी भन्सारमा खटिएको सीमा सुरक्षा बलले काम नगरेको देखिएको थियो । खासगरी आफू मातहत रहेका बोर्डर आउट पोष्टमा खटिएका डिएसपीहरुले कमाण्ड गर्न नसक्दा उनी असफल देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्