दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले र नेपाली कांग्रेसको गठबन्धन ८४ को चुनावसम्म निरन्तर रहने बताएका छन् । बुधबार प्रेस चौतारी दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकार ढल्ने भनेर चलाइने हल्ला निराधार भएको बताएका हुन् ।

सत्ता साझेदार दलबीच असमझदारी नहुँदासम्म सरकार नढल्ने भन्दै उनले साना दलले ठुला दलमाथि शासन गर्ने परिपाटिको अन्त्य गर्न एमाले र कांग्रेस मिलेर सरकार सञ्चालन गरेको दोहोराए । उनले भने, ‘दुई दलबीच असमझदारी हुँदासम्म सरकार ढल्दैन् । असमझदारी नभए कसैले सरकार ढल्छ भन्नै पर्दैन ।’
सत्ता गठबन्धन चुनावी परिणामको उपज भएको भन्दै उनले गठबन्धन सरकार कुनै एक दलको नीतिमा नभई सामूहिक नीतिका आधारमा चलाइने बताए ।














