Logo
Logo

कालिका विद्यालयको आवासहितको शिक्षाको उद्घाटन, विद्यार्थीले विद्यालयमै बसेर पढ्न पाउने


1.9k
Shares

काठमाडौं । कालिका आधारभूत विद्यालयको आवासहितको शिक्षाको उद्घाटन गरिएको छ । बिहीबार खोटाङको रावाबेसी गाउँपालिकाका प्रमुख फटिककुमार श्रेष्ठले आवासहितको शिक्षाको उद्घाटन गरेका हुन् ।

२०७० सालमा स्थानीय जनता प्राथमिक विद्यालय र कालिका प्राथमिक विद्यालय गाभिएर बनेको कालिका आधारभूत विद्यालयमा अब विद्यार्थीले विद्यालयमै बसेर शिक्षा ग्रहण गर्न सक्नेछ । कक्षा २ भन्दा माथिका विद्यार्थीहरुले आवाससहितको शिक्षा लिन सक्ने छन् ।

प्रधानाध्यापक टीकाराम राईले विद्यालय आवाससहित शिक्षामा रुपान्तरणमात्र होइन अंग्रेजी माध्यमबाट पनि पठनपाठन सुरुवात भएको बताएका छन् । उनले विद्यालयले पूरानो स्वरुप परिवर्तनमा अभिभावक र शुभचिन्तकको दह्रो साथ पाएपछि सम्भव भएको पनि बताए ।

उनले भने, ‘कालिका विद्यालय एउटा नमूना विद्यालयका रुपमा रुपान्तरण भएको छ । विगतमा सामान्य रुपमा सञ्चालनरत कालिका विद्यालयले यसै शैक्षिक सत्रदेखि पूर्ण आवासीय विद्यालयमा रुपान्तरण भएर विद्यार्थीको शिक्षामा नयाँ शिक्षाको ज्योति थपेको छ ।

प्रधानाध्यापक राई, स्थानीय तथा वडा सदस्य विशाल राई र स्थानीय युवा नेता भीमराज राईको विशेष अगुवाईमा स्थानीयहरु मिलेर उठाएको आर्थिक रकमबाट आवासीय विद्यालय बनाइएको हो । आवासीय विद्यालय अर्थात् अब, विद्यार्थीले स्कुलमै बसेर गाँस, बाँस र कपाससहितको शिक्षा आर्जन सक्नेछन् ।

बालविकास केन्द्रदेखि कक्षा–२ सम्म अंग्रेजी माध्यमबाट अध्यापन हुँदै आएको कालिका विद्यालयले प्रत्येक शैक्षिक सत्रबाट तहगत रुपमा क्रमशः अंग्रेजी माध्यमबाट विद्यार्थीलाई अध्यापन गराउने प्रधानाध्यापक राईले बताएका छन् । उनका अनुसार अब कक्षागत रुपमा प्रत्येक वर्ष बढाउँदै लगेर कक्षा–८ सम्म नै अङ्ग्रेजी माध्यम लागू गर्ने लक्ष्य राखिएको छ ।

सैद्धान्तिक र प्रयोगात्मक शिक्षालाई जोड दिने कालिका विद्यालयको अर्को उद्धेश्य हो– शिक्षामा कोही बञ्चित हुन नपरोस् । शिक्षा मानिसको पहिलो आधार हो । शिक्षाबिना चेतना अंकुराउन्न, चेतनाबिना मानिस पूर्ण बन्नै सक्दैन । विद्यालयले विद्यार्थीलाई किताबसँगै कृषिमा विद्यार्थीलाई अब्बल बनाउँदै आइरहेको छ । विद्यार्थी आफैँले विद्यालयको हाताभित्र उत्पादन गरेका मौसमी तरकारीहरु स्थानीय बजारमा बिक्री हुन्छन् । तरकारीबाट आम्दानी भएको रकम विद्यार्थीहरुकै आवश्यकीय कार्यमा खर्च गरिन्छ ।

प्रधानध्यापक राईका अनुसार आवासीय विद्यालयमा रुपमान्तरण भएको कालिका विद्यालयमा यस शैक्षिकसत्रका लागि नयाँ २२ जना विद्यार्थी भर्ना भएका छन् । आवासीय अध्ययनतर्फ १४ छात्र तथा २० छात्रा भर्ना भएका छन् । जसका लागि एक जना महिला र एक जना पुरुष शिक्षक तोकिएको छ ।

आर्थिक संयोजक रहेका वडा सदस्य विशाल राईले अभियान शुरु गरेको छोटो समयमा नै नौँ लाख भन्दा बढी आर्थिक रकम सहयोग प्राप्त भएको बताए । उनका अनुसार विद्यालयलको स्तरोन्नतिमा आर्थिक सहयोगको क्रम जारी छ । साथै, दलित, गरिब र अभिभावकविहीन छात्रछात्राका लागि कोटा निर्धारण गरेर पूर्ण आवासीयरुपमा शुरुवात भएको पनि उनले बताए ।

गाउँपालिकाको तर्फबाट पूर्ण सहयोगः प्रमुख श्रेष्ठ

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि एवं गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले विद्यालयलाई नयाँ उचाईमा पुर्याउने अभिभावकप्रति धन्यवाद व्यक्त गरे । उनले अभिभावकको सक्रियतामा पूर्ण आवासीय बनाइएको कालिका आधारभूत विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्न गाउँपालिकाको तर्फबाट पूर्ण सहयोग रहने गाउँपालिका प्रमुख श्रेष्ठले बताए ।

उनले भने, ‘गुणस्तरीय शिक्षामात्र होइन भौतिक सुविधा अभावका कारण कयौँ अभिभावकले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन सकेका छैनन् । सामुदायिकबाट निजी विद्यालयमै लैजाने परिपाटी छ।’ उनले सामुदायिक विद्यालयलाई निजी स्तरसरह पुर्याउने कार्यलाई उचाइमा पुर्याउनका निम्ति गाउँपालिकाले योजना बनाएको पनि बताए ।

गाउँपालिका अध्यक्ष श्रेष्ठले दम्कुका स्थानीयवासी एकताको प्रतिक रहेको भन्दै प्रशंसा गरे । ‘दम्कु एकता प्रतिक हो । यो शुभ कार्यमा सबैले हातमा हात, साथमा साथ दिएर यो अभियानलाई सफल बनायो । साँच्चिकै यो उदाहरणीय कार्यको शुरुवात भएको छ,’ उनले यसअघि भने, ‘अब यो एउटा विद्यालयमात्र होइन शिक्षामा नयाँ सुरुवात पनि हो । यसमा गाउँपालिकाको तर्फबाट पूर्ण सहयोग रहनेछ ।’ आवासीय विद्यालयको गाउँपालिका प्रमुख श्रेष्ठ, उपप्रमुख कौशिला गुरुङ र प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीले औपचारिक उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्