
काठमाडौं । डा बाबुराम भट्राई नेतृत्वको नेसपाबाट अलग भएको नेपाल समाजवादी पार्टीभित्र विवाद देखिएको छ ।माओवादीसँग एकता गर्न भन्दै पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठ र उनको समूहले ११ जेठमा केन्द्रीय समितिको छुट्टै बैठक बोलाएपछि नेसपामा भाँडभैलो सुरु भएको हो ।
पार्टी अध्यक्ष महिन्द्रराय यादव यथास्थितिमा मााओवादीसँग एकता गर्न अनिच्छुक देखिएका छन् । तर, माओवादीसँगको एकता प्रक्रियालाई अन्तिम रुप दिन श्रेष्ठ समूहले छुट्टै बैठक बोलाएपछि त्यसलाई खण्डन गर्दै अध्यक्ष यादवले पार्टीको आधिकारिक बैठक नरहेको स्पष्ट पारेका छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै यादवनिकट महासचिव रमेशप्रसाद यादवले ११ जेठमा पार्टीको केन्द्रीय समितिको आधिकारिक बैठक नरहेको जिकिर गरेका हुन् । विज्ञप्तिमा उनले नेकपा माओवादी केन्द्रबीच रुपान्तरणसहित एकता गर्न पार्टी दृढ रहेको बताएका छन् ।
‘नेपाल समाजवादी पार्टीको नाममा २०८२ जेठ ११ गते केन्द्रीय समितिको बैठक भनी प्रचार गरिएको जानकारीमा आएको हुँदा उक्त मितिमा पार्टीको आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ । नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबीच एकताको सन्दर्भमा रुपान्तरणसहित एकता गर्न दृढ रहेको जानकारी गराउँदछु,’ विज्ञपितमा भनिएको छ ।














