पोखरा । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले राजतन्त्रलाई मुन्ट्याएर फालिसकेकाले त्यसको पुनर्स्थापना सम्भव नभएको बताएका छन् । शुक्रवार पोखरामा युवा सङ्घ नेपालको दसौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले जेठ १५ देखि राजावादीहरूले घोषणा गरेको आन्दोलनप्रति कटाक्ष गरे ।

“नेपाली जनताले राजतन्त्र उल्टाएर फालिसके, नयाँ संविधान, संसद्, राष्ट्रपति र लोकतान्त्रिक व्यवस्था छ । हामीले जङ्गलमा जथाभाबी मारकाट गर्ने राजतन्त्रलाई समातेर मुन्ट्याएर फालिदिएका छौँ,” ओलीले भने । उनले राजावादीहरूको ‘जेठ १५ मा राजालाई सिंहासनमा राख्ने’ भनाइको मजाक उडाउँदै भने, “देशको राज सिंहासन गइसक्यो, अब घरमा बनाएर राख्लान् ।” ओलीले राजतन्त्र फर्कने सपना कहिल्यै पूरा नहुने दाबी गर्दै लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे ।














