Logo
Logo

रास्वपामा सभापति र महामन्त्रीको पदपूर्ति गर्न माग 


3.5k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा पूर्वअनुशासन आयोगका कार्यवाहक प्रमुख यज्ञमणि न्यौपाने पार्टीका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेलाई सुझाव पत्र पठाउँदै रिक्त नेतृत्व पदहरू तत्काल पूर्ति गर्न माग गरेका छन् । उनले सभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य पदहरूको पूर्तिका साथै संगठनलाई सुदृढ बनाउन विभिन्न सुझाव दिएका छन् । 

न्यौपानेले संसदीय दलको नेता चयन गर्न, पार्टीका सबै विभाग र समितिहरूलाई पूर्णता दिन, शुभेच्छुक सङ्गठनहरूलाई तत्काल गठन गर्न र ती सङ्गठनहरूलाई भातृ सङ्गठनको रूपमा नभई स्वायत्त प्रकृतिको बनाउन जोड दिएका छन् । साथै, २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेकाहरूलाई प्राथमिकताका साथ उचित प्रतिनिधित्व दिनुपर्ने उनको माग छ ।

यसबाहेक, न्यौपानेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थाका लागि पार्टीले सदन र सडकबाट सङ्घर्ष सुरु गर्नुपर्ने बताएका छन् । उनले यो मुद्दालाई पार्टीको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

न्यौपाने यसअघि रास्वपाको अनुशासन आयोगका कार्यवाहक प्रमुख थिए । महाधिवेशन नजिकिँदै गर्दा उनले महामन्त्री पदमा आकाङ्क्षा राख्दै उक्त पदबाट राजीनामा दिएका थिए । हाल रास्वपामा सभापति, महामन्त्री र सहमहामन्त्री पदहरू रिक्त छन्, र यी पदहरू कार्यवाहक नेतृत्वले सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्