पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको आधार तयार पार्ने प्रक्रियामा आफ्नो पार्टी अघि बढिरहेको बताएका छन् । शनिवार कास्कीमा पुष्पलाल लोकमार्ग जनजागरण अभियानअन्तर्गत आयोजित जनसंवाद कार्यक्रममा बोल्दै उनले हुलाकी मार्ग र पुष्पलाल लोकमार्गमा माओवादीले सञ्चालन गरेको अभियान केवल कार्यनीतिक कदम नभई समाजवादी क्रान्तिको भिजन भएको उल्लेख गरे ।

प्रचण्डले नयाँ क्रान्तिमार्फत मुलुकमा राजनीतिक स्थायित्व कायम गर्ने, भ्रष्टाचारको अन्त्य गर्ने र आर्थिक समृद्धि हासिल गर्ने मुख्य जिम्मेवारी माओवादीको काँधमा रहेको जिकिर गरे । उनले भने, “मुलुक अहिले माओवादीमय हुँदै गएको छ। आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्नेछ, र त्यसले समाजवादको आधार निर्माण गर्नेछ ।”
कार्यक्रममा प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको पक्षमा माओवादीले पहिलेदेखि नै वकालत गर्दै आएको स्मरण गराए । उनले जनताको सहमतिमा संविधान संशोधन गरेर यो व्यवस्था लागू गर्नुपर्नेमा जोड दिए ।
पुष्पलाल लोकमार्ग जनजागरण अभियानले जनतामाझ माओवादीको सन्देश पुर्याउन र समाजवादी क्रान्तिको आधार तयार पार्न महत्वपूर्ण भूमिका खेल्ने प्रचण्डको भनाइ छ ।














