Logo
Logo

युवा संघको अधिवेशनमा दुई समूहको नाराबाजी, थेबेको पक्षमा केपी ओली


7.8k
Shares

पोखरा । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको पोखरामा जारी १०औँ राष्ट्रिय महाधिवेशनमा दुई समूहले नाराबाजी गरेका छन् । पोखरा सभामा जारी महाधिवेशनको बन्दसत्र बाहिर संघका अध्यक्ष क्षितिज थेबे पक्षले नाराबाजी गरेपछि भित्र अध्यक्षका दाबेदार सुमन पुरी पक्षका युवाहरूले पनि नाराबाजी गरेका छन् ।

थेबे पक्षका युवाले क्षितिज थेबे जिन्दावाद, युवा संघले के भन्छ, क्षितिज थेबे ले भन्छ जस्ता नारा लगाएका छन् भने पुरी पक्षले पनि युवा संघले के भन्छ सुमन पुरी ले भन्छ भन्दै नाराबाजी गरेका छन् । संघका वर्तमान अध्यक्ष थेबे पुनः अध्यक्षमा दोहोरिन चाहेका छन् भने महासचिव पुरीले अध्यक्ष दावी गर्दै आएका छन् । संघले हालसम्म निर्वाचन तालिका भने सार्वजनिक गरेको छैन ।

एमाले अध्यक्ष केपी शर्मा ओली भने थेबेलाई नै पुनः अध्यक्षमा दोहोराउन चाहन्छन् । एक नेतका अनुसार ओलीले थेबेलाई सहमितमै अध्यक्ष बनाउने प्रयास गरिरहेका छन् । तर, पुरी पक्ष युवा नेताले भने निर्वाचन प्रक्रियामा जान चाहेको युवा संघका एक नेताले बताए ।

महाधिवेशनमार्फत आइतबार नयाँ नेतृत्व टुंगो लगाएर महाधिवेशन सकिने कार्यतालिका छ । युवा संघको संस्थापक अध्यक्ष हालका एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली हुन् । उनले शुक्रबार महाधिवेशनको उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न र बाह्य घुसपैठ नगर्न निर्देशन दिएका थिए ।

दुई पक्षले गरेको नाराबाजी प्रचारको शैलीमात्र भएको युवा संघका पूर्वकेन्द्रीय उपाध्यक्ष माधव बाँस्तोलाले बताए । उनले प्रचारशैली सौहार्द भएकाले अप्रिय घटनाको सम्भावना नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्