Logo
Logo

गृहमन्त्रीमाथिको आरोपमा सम्बन्धित निकायले अनुसन्धान गर्छ : एमाले


1.6k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोपबारे सम्बन्धित निकायले अनुसन्धान गर्ने बताएको छ । आइतबार च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकपछि महासचिव शङ्कर पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

गृहमन्त्री लेखकको राजीनामाबारे सोधिएको प्रश्नमा पोखरेलले भने,’ ‘आरोप मात्रैले सबै कुरा निर्धारण हुँदैन । सम्बन्धित निकायले यो विषयमा अनुसन्धान गरिरहेको छ ।’ उनले अनुसन्धान र अभियोजनका लागि सम्बन्धित निकायहरूलाई जिम्मेवारी दिनुपर्ने बताए । ‘हामी सञ्चारमाध्यम वा सामाजिक सञ्जालबाट अनुसन्धान वा अभियोजन गर्दैनौँ,’उनले भने, ‘राजनीतिक दलहरूले सुशासनको पक्षमा पैरवी गर्छन्, अनुसन्धान निकायले अनुसन्धान गर्छ, र दोषी ठहरिए कारबाही हुन्छ ।’

पोखरेलले सामाजिक सञ्जाल र सञ्चारमाध्यमको टिप्पणीका आधारमा फैसला नहुने बताए । उनले बैठकमा पार्टीका आन्तरिक विषयमा मात्र छलफल भएको र सरकारको काममा पार्टीले कुनै विशेष निर्देशन नदिएको बताए । ‘सरकारले आफ्नो काम गर्छ, हामीले पार्टीका विषयमा छलफल गरेका छौँ,’ उनले भने ।

पोखरेलले एमालेलाई सुशासन र पारदर्शिताको नमुना पार्टी भएको दाबी गरे । ‘निर्वाचन आयोगमा हाम्रो आर्थिक पारदर्शिता हेर्नुस्, एमाले सबैभन्दा पारदर्शी छ । सुशासनमा सबैभन्दा कम आरोप लागेको र प्रमाणित भएको पार्टी एमाले हो,’ उनले भने । उनले कुनै प्रश्न उठ्दा गम्भीरतापूर्वक लिने पार्टी पनि एमाले नै भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्