Logo
Logo

एसएसपी बढुवाका लागि बदनामहरूकै दौडधुप


24.6k
Shares

काठमाडौं । विवादित एसएसपीहरू डिआइजीका लागि सिफारिस भएसँगै १३ जना अधिकृतहरू एसएसपीका लागि दौडधुपमा रहेका छन् । नेपाल प्रहरीमा नायब महानिरीक्षक (डिआइजी) बढुवा सिफारिस भएसँगै रिक्त भएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)पदमा आकांक्षीहरू दौडधुपमा रहेका हुन् ।

राष्ट्रिय अनुसन्धान विभागबाट स्थान्तरण भएका ११ जना विवादित एसएसपीलाई डिआइजी बढुवाका लागि सिफारिस गरेसँगै प्रधान कार्यालयले रिक्त एसएसपी पदमा बढुवाको तयारी थालेपनि प्रतिस्पर्धीका कारण केही ढिलाइ हुने देखिएको छ ।

अहिलेको एसपी बढुवाको पहिलो नम्बरमा विमल बस्नेत देखिए पनि उनको कारबाही नै फुकुवा भैसकेको छैन । राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएका बस्नेतको पाँच वर्षे कारबाही फूकुवा नभएका कारण उनको बढुवा सम्भावना निकै कमजोर रहेको छ । २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टरमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएका बस्नेत आफ्नो ब्याचका सबै प्रहरी अधिकृतहरू एसएसपी भइसक्दा पनि एसपी नै छन् ।

एसपी बस्नेत आर्थिक अनियमितताको आरोपमा निलम्बनमा समेत परेका अधिकृत हुन् । २०७७ मंसिरमा कर्णाली प्रदेशको ट्राफिक प्रहरी प्रमुख हुँदा मातहतका कार्यालयहरूबाट रकम असुलेको आरोपमा उनी निलम्बनमा परेका थिए । जसकारण उनी यसअघिको बढुवामा छुटेका थिए ।

त्यस्तै, २०५८ का टोलीहरू पनि एसएसपी बढुवाको प्रतिस्पर्धामा छन् । यो टोलीबाट प्रकाश रानाभाट, कमल थापा, तुलबहादुर कार्की, दयानिधी ज्ञवाली, राकेश सिंह, राजीव बस्नेत, दिपक पोखरेल, केदार खनाल, दिपेन्द्र शाही, रामप्रकाश साह, प्रविण धिताल र ज्ञानेन्द्र फुयाल पनि बढुवाको प्रतिस्पर्धी हुन् । कार्कीलाई अघिल्लो पटक नियोजित रुपमा छुटाइएको थियो भने थापा हनी ट्रयापको काण्डमा प्रहरी निरीक्षक विनु शाहीसँग मुछिएका छन् । पोखरेललाई शक्ति केन्द्रको आडमा घर पायक पूर्वी क्षेत्रमा बसेर राज्यशक्तिको दोहोन गरेको आरोप छ ।

सुनसरी मोरङ लगायतमा जिल्लामा पालैपलो विभिन्न युनिट विताएका पोखरेलले प्रहरी कर्मचारी, सवारी साधान तथा संगठनलाई दिनुपर्ने समय निजी जीवनलाई दिएर ड्रागन खेती गर्नमा लगाएको आरोपका कारण उनको बढुवा रोकिने सम्भावना रहेको छ । यो विषयमा उनले संगठनभित्र स्पष्ट पार्न सकेका छैनन ।

यस्तै, भुवनेश्वर तिवारी, ऋषिराम कडेल, सुरेश काफ्ले, अमर सिंह, श्याम सिंह चौधरी, नकुल पोखरेल, पदम विष्ट, बासुदेव खतिवडा, सुवासचन्द्र बोहरा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्र सिंह थापा, महेन्द्र श्रेष्ठ, दिलिप घिमिरे, वीरेन्द्र शाही, जनक शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन तिम्सिना र रमेश पण्डित पनि प्रतिस्पर्धी हुन् । तिवारी धनुषा बस्दा विवादित बनेका थिए भने दाङ र बारा बस्दा काफ्लेले अनाधिकृत रुपमा आर्थिक उपार्जन गरेको आरोप रहेको छ ।

रामेश्वर कार्कीलाई सिन्धुपाल्चोकमा अहिले पनि क्रसर व्यवसायीसँग उठवस रहेको उजुरी प्रहरी प्रधान कार्यालयमा परेको छ भने पण्डित सिराहाबाट आर्थिक अपचलन गरी प्रहरी प्रधान कार्यालय तानिएका अधिकृत हुन् ।

यस्तै, प्रकाश रानाभाटसमेत विवादित प्रहरी अधिकृत हुन् । उनी पनि जिल्ला प्रहरी कार्यालय धनुषामा हुँदा आर्थिक विवादमा तानिएका थिए । कमजोर कमाण्डिङ क्षमताका उनी पनि अहिले एसएसपी बढुवाको लागि चर्को लबिङ गरिरहेका छन् । यस्तै प्रविण धिताल, राकेश सिंह र केदार खनाल समेत कमजोर प्रहरी अधिकृत हुन् ।

कमजोर कार्यक्षमताकै क्षमताका कारण धिताल सर्लाहीबाट ४ महिनामै तानिएका थिए । सिंह पनि धादिङ बस्दा आर्थिक विवादमा मुछिएका थिए । त्यस्तै खनाल समेत गोरखा बस्दा विवादमा तानिएका थिए । सुपको नाता लगाएर चक्रराज जोशी र जनक शाही पनि बढुवाको लागि दौडधुप गरिरहेका छन् । जोशी र खड्का त यसअघि नै बढुवाको लागि भन्दै बिदा लिएर मन्त्रालय पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्