Logo
Logo

पर्यटकलाई अनावश्यक दुख दिने नगरौँ : प्रधानमन्त्री ओली


504
Shares

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणमा आउने पर्यटकलाई कुनै पनि कानुनी वा प्रशासनिक झन्झट नदिई न्यानो आतिथ्य प्रदान गर्न आग्रह गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सिंहदरबारमा आयोजना गरेको राष्ट्रिय पर्यटन संवादमा उनले पर्यटन क्षेत्रमा विद्यमान अवरोध हटाई सुशासन र विकासलाई तीव्रता दिन व्यापक सुधारको आवश्यकता रहेको बताए । 

प्रधानमन्त्री ओलीले अध्यागमनमा पर्यटकलाई अनावश्यक दुख दिने, सामान हराउने र सीमानाकामा प्रवेशमा अवरोध गर्ने कार्य बन्द गर्न जोड दिए । उनले सार्वजनिक खरिद ऐनलगायत व्यवसायमा बाधा पुर्‍याउने नियम संशोधन गर्न सरकार तयार रहेको बताए ।

‘हामी पूर्वाधार विकास र पर्यटन वृद्धिमा जुटेका छौँ । सम्पर्क सञ्जाल विस्तार भएको छ । जुम्लाको स्याउ काठमाडौँमा बजार पाउन थालेको छ । चीनसँग १४ नाका खोलिएका छन्, किमाथांका नाकामा पुल बन्दैछ,’ उनले भने, ‘पर्यटनलाई समृद्धिको आधार बनाउन समन्वय र सहजीकरणमा कुनै कमी नहोस् ।’

नेपालको आकाश सुरक्षित भए पनि युरोपमा कालोसूचीमा रहेको उल्लेख गर्दै उनले हवाई क्षेत्रका दुई निकाय तत्काल अलग गर्न र मापदण्ड पूरा गर्न निर्देशन दिए । छलफलमा काठमाडौं–मुग्लिन–पोखरा, बुटवल–पाल्पा–पोखरालगायत सडक निर्माण, सीमानाकामा सहज प्रवेश, युरोपसँग सिधा हवाई सम्पर्क, नेपालको अन्तर्राष्ट्रिय ब्रान्डिङ, पर्यटन गुरुयोजना, नेपाल वायुसेवा निगमको पुनर्संरचना, हिमालय सफाइ, डिजिटल क्षमता विस्तार र अन्तरनिकाय समन्वयमा जोड  दिइएको छ । 

कार्यक्रममा सङ्घ र प्रदेशका मन्त्रीहरू, उच्च अधिकारीहरू र निजी क्षेत्रका प्रतिनिधिहरूले पर्यटन क्षेत्रका समस्या र समाधानका उपायबारे कार्य योजना प्रस्तुत गरे ।

प्रतिक्रिया दिनुहोस्