काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण बन्द रहेको संसद् खुलाउने प्रयास अझै सफल हुन सकेको छैन । सहमतिको पहल गर्न सभामुख देवराज घिमिरेको आह्वानमा सत्तापक्ष र विपक्षीबीच बैठक बसे पनि कुनै निष्कर्ष निस्कन सकेन ।

सभामुख घिमिरेको पहलमा बसेको बैठकमा उपसभामुख, प्रमुख सचेतक र मुख्य सचेतकहरू सहभागी थिए । तर, सत्तापक्ष र विपक्षी आ९आफ्नो अडानमा कायम रहँदा सहमति हुन नसकेको हो ।
सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले गृहमन्त्री रमेश लेखकलाई संसद्मा आफ्नो धारणा राख्न दिनुपर्ने अडान लिएका छन् । गृहमन्त्रीमाथि लागेका आरोपबारे स्पष्ट जवाफ दिन उनलाई अवसर दिनुपर्ने उनीहरूको भनाइ छ । यता, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको मागमा अडान कायम राखेका छन् ।
भिजिट भिसाको नाममा नेपाली युवाहरूलाई करोडौँ रकम लिएर विदेश पठाउने कार्यमा गृहमन्त्री लेखकको संलग्नता रहेको आरोप विपक्षीहरूले लगाएका छन् । सोही आरोपमा जवाफ दिन संसद्मा उपस्थित भएका गृहमन्त्रीलाई बोल्न नदिई विपक्षीले लगातार अवरोध गरेपछि सभामुखले बैठक स्थगित गरेर सहमतिको प्रयास गरेका हुन् । तर, हालसम्म सहमति जुट्न नसकेको र संसद्को गतिरोध कायमै रहेको छ ।














