काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ७२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्ने घोषणा गरे ।

मन्त्री पौडेलले कृत्रिम बौद्धिकता (एआई) को व्यावसायिक प्रवर्द्धनका लागि सहजीकरण गरिने बताए । निजी क्षेत्रसँगको सहकार्यमा डाटा सेन्टर स्थापना र सूचना प्रविधि पार्क निर्माणका लागि वैदेशिक लगानीलाई प्रोत्साहन गरिने उनले बताए ।
यस्तै, मोबाइलको अवैध निकासी रोक्न र ओटीटी सेवाको नियमनका लागि नीति निर्माण गरिने उनले उल्लेख गरे । साइबर सुरक्षामा विशेष ध्यान दिइने र डिजिटल साक्षरता लगायतका कार्यक्रमका लागि ७४ करोड रुपैयाँ छुट्याइएको मन्त्री पौडेलले जानकारी दिए ।














