काठमाडौं । राजावादीहरुले गणतन्त्र दिवशको दिन गरेको जनप्रदर्शन तथा आन्दोलनलाई ‘ऐतिहासिक’ बनेको ठहर गरेको छ । साथै, हिजोको शान्तिपूर्ण आन्दोलनबाट हौसिएको राजावादीले नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको ‘काठमाडौं कब्जा गर्ने’ परिकल्पनाले हावा खाएको टिप्पणी गरेका छन् ।

राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना तथा संघीयता खारेजीको एजेन्डासहित संयुक्त जनआन्दोलन समितिको संयोजना र राप्रपाको अगुवाइमा जेठ १५ गतेबाछ अनिश्चितकालीन आन्दोलन सुरू गरेको हो । माग पूरा नभएसम्म सडकबाट नहट्ने राजावादी घटकहरुले बताएका छन् ।
बिहीबार पहिलो दिनको आन्दोलन शान्तिपूर्ण र ऐतिहासिक भएको निष्कर्ष निकाल्दै राजावादीहरुको आन्दोलनले आज पनि निरन्तरता पाउने जनाएको छ । आजको प्रदर्शन माइतीघर–बिजुलीबजारमा केन्द्रित गर्ने तयारी मोर्चाले गरेको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आज माइतीघरको आन्दोलनलाई पनि शान्तिपूर्ण नै बनाइने बताए ।
उनले भने, ‘हामी एउटा जिम्मेवार राजनीतिक दल हौं । हिंसा भड्काउने हाम्रो योजना छैन । तर, यदि गणतन्त्रवादी दलहरूले हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरेको खण्डमा आन्दोलन चर्केर जान सक्छ ।’ उनले हिजोको आन्दोलने राजसंस्थावादीहरूको नैतिक जित भएको ठहर गरेको बताए ।
उनले भने, ‘गणतन्त्र दिवसकै दिन राजसंस्था पुनःस्थापनाको आन्दोलन चर्काइयो नारा घन्काइयो, यो ऐतिहासिक उपलब्धी हो ।’ उनले गणतन्त्र रक्षाका लागि भनेर गरिएको प्रदर्शन फितलो भएको दावी गर्दै भने, ‘गणतन्त्र रक्षात्मक बन्यो, परिवर्तनकारीहरू उत्साहित देखिए, जनताले सत्ता गठवन्धनभन्दा राजसंस्थावादीलाई उत्साहपूर्ण नजरले हेरे ।’ राजावादीहरूलाई रिंगरोडबाहिरै रोक्नु भनेर प्रधानमन्त्री आफैँले हुंकार गरपनि रत्नपार्कमै भेला भएर गतिलो जवाफ दिएको उनको भनाइ छ ।
‘आफैँले आह्वान गरेको कार्यक्रममा भिड नदेखेपछि प्रधानमन्त्री ओली आफैँ उपस्थित हुन सकेनन्’ उनले भने, ‘जनता हाम्रो साथमा छन् भन्ने उनको परिकल्पनाले हावा खायो ।’ राजावादीले नविन समझदारीमा पु¥याएरै छोड्छन् भन्नेमा जनमानस विश्वस्त बनेको उनको दावी छ ।














