नुवाकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबार प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दोहोराएका छन् । उनले आफ्नो कुनै संलग्नता नभएकै कारण छानबिन आफूबाटै सुरू गरियोस् भनेको बताए ।

शनिबार नुवाकोटमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नियोजित रूपले आफूलाई शेरा दरबार प्रकरणमा जोडेर पार्टी र त्यसको नेतृत्वमाथि षड्यन्त्र गर्न खोजिएको दावी गरे ।
अध्यक्ष प्रचण्डले भने, ‘मैले सदनमा उभिएर प्रधानमन्त्रीजी तुरून्तै शेरा दरबार प्रकरणमा छानबिन सुरू गरिहाल्नुस् भनेको थिएँ । मैबाट सुरू गरियोस् पनि भनेको थिएँ । छानबिन गर्न आँट हुने स्थिति भएन, किनकि मेरो कुनै संलग्नता थिएन ।’
उनले यही प्रकरणमा मुछिएका अन्य नेताहरूले आफँैबाट छानबिन सुरू गरियोस् भन्न नसक्ने बताए । ‘अरूले पनि भनेर देखाऊन् । गिरिबन्धु मैबाट छानबिन गरौँ भनेर प्रधानमन्त्री ओलीजीले भनुन् त । अरू जग्गाको केसमा अरूले भनुन् त’ उनले चुनौती दिए ।
साथै, उनले क्यान्टोनमेन्टको विषय पनि नियोजित ढंगले बेलाबेला उठाउन खोजिने बताउँदै त्यसको हिसाबकिताब सबै मिलिसकेको बताए ।














