काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजावादीहरूप्रतिको टिप्पणीको जवाफ फर्काएका छन् । नुवाकोटमा शनिवार प्रचण्डले राजावादीहरूले भाडामा मान्छे ल्याएर प्रदर्शन गरेको र संविधान खारेजीको माग बेकार भएको बताएका थिए ।

जवाफमा लिङदेनले आन्दोलनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफ्नै अनुभव सुनाएको टिप्पणी गरे । “गणतन्त्रको संस्थापक प्रचण्डलाई गणतन्त्र हल्लिँदा पिर पर्नु स्वाभाविक छ । उनले भाडामा मान्छे ल्याएर जुलुस गरेको अनुभव सुनाएका होलान्,” लिङदेनले भने । उनले जनसमर्थन बढेमा सरकारलाई झुकाउने र निरन्तर आन्दोलन जारी राख्ने बताए ।














