काठमाडौं । सरकार र यातायात व्यवसायीबीचको वार्तामा सहमति हुन सकेन । चारवटै यातायात व्यवसायी महासङ्घले भोलि (मङ्गलवार) पनि बन्द जारी राख्ने घोषणा गरेका छन् । वार्तामा पहिलो बुँदामै सहमति नजुटेको र त्यही माग प्रमुख भएको व्यवसायीहरूले बताएका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले छलफल निरन्तर भइरहेको र सकारात्मक दिशामा अगाडि बढेको जानकारी दिए । उनका अनुसार मङ्गलवार बिहान साढे १० बजे पुनः वार्ता हुनेछ । आज सरकार र व्यवसायीबीच एक कार्यदल गठन गरी छलफल अघि बढाइएको थियो ।
अन्य बुँदाहरूमा सहमति नजिक पुगे पनि पहिलो बुँदामा कुरा नमिलेको वार्तामा सहभागीहरूले बताए । पहिलो बुँदामा गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ विधेयक फिर्ता गर्नुपर्ने माग राखिएको छ । रातो नम्बर प्लेटका सवारीले यात्रु बोक्न नपाउने नियमको विरोधमा व्यवसायीहरूले बन्द आह्वान गरेका हुन् ।














