काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले नेपाल वायुसेवा निगममा व्याप्त भ्रष्टाचार र अनियमितताविरुद्ध कारबाहीको माग गर्दै मङ्गलवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ । पार्टीका अध्यक्ष रामशरण पाण्डेको नेतृत्वमा गएको टोलीले उजुरी दर्ता गराएको हो ।

अध्यक्ष पाण्डेले नेपाल वायुसेवा निगममा वर्षौंदेखि भ्रष्टाचार मौलाउँदै गएको र दोषीमाथि कुनै कारबाही नभएको भन्दै पार्टी उजुरी दर्ता गर्न बाध्य भएको बताए । पार्टीले जारी गरेको विज्ञप्तिमा नेपालको राष्ट्रिय ध्वजावाहकले पञ्चायतकालपछि कुशासन र कमजोर व्यवस्थापनका कारण धमिजाकाण्ड, लाउडा काण्ड, चेज एयर काण्ड, वाइडबडी काण्ड, साउथ चाइना काण्ड, इन्जिन मर्मत काण्ड र समयमा जहाज मर्मत नगरी भूमिस्थ गर्ने जस्ता अनियमितताले आन्तरिक र बाह्य उडानमा गति लिन नसकेको उल्लेख छ ।
पार्टीले यस्ता समस्या समाधानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धर नेतृत्वको समितिले २०८१ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको प्रतिवेदनका सुझावहरू तत्काल कार्यान्वयन गर्न माग गरेको छ । यसअघि, २०८२ जेठ १३ गते पार्टीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएको थियो ।
उजुरी दर्ता गराउन पुगेका पार्टीका सदस्यहरूले अख्तियारको कार्यालय अगाडि भ्रष्टाचारविरुद्ध नारासहितका प्लेकार्ड बोकेर शान्तिपूर्ण प्रदर्शन गरेका थिए।














