काठमाडौं । यातायात व्यवसायीले दुई दिनदेखि जारी देशव्यापी हडताल फिर्ता लिने निर्णय गरेका छन् । मङ्गलवार साँझ बसेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको बैठकले हालका लागि हडताल स्थगित गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाका लागि स्थगित गरेपछि यातायात व्यवसायीहरू आन्तरिक छलफलमा जुटेका थिए । महासङ्घका अध्यक्ष विजय स्वाँरले हडताल फिर्ता लिने निर्णय भएको र अब सार्वजनिक यातायातका साधनहरू निर्बाध रूपमा सञ्चालन हुने जानकारी दिए ।
“हामीले हालका लागि हडतालका कार्यक्रम फिर्ता लिएका छौँ । अब सार्वजनिक यातायातका साधनहरू सहज रूपमा चल्नेछन्,” स्वाँरले भने । यो निर्णयले यात्रुहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।














