काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरुले अघि सारेका मागहरू कुनै पनि हालतमा पूरा हुन नसक्ने टिप्पणी गरेका छन्।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले गृहमन्त्रीले सार्वजनिकरूपमा उठेका प्रश्नको संसदमा जवाफ दिने भन्दा पनि प्रतिपक्षीहरूले अवसर नदिएको भन्दै आपत्ति जनाए। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान प्रतिवेदन सार्वजनिक नभएसम्म कुनै पनि छानबिन समिति नबन्ने जिकिर गरे।
संवैधानिक आयोगभन्दा ठूलो कुनै पनि छानबिन समिति हुन नसक्ने उनको भनाइ छ।
बर्तौलाले गृहमन्त्रीले राजीनामा पनि नदिने र छानबिन समिति पनि नबन्ने उल्लेख गर्दै प्रतिपक्षीहरू पछि हटेर संसदको गतिरोध खुलाउन भूमिका खेल्नुपर्ने बताए।














