काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिट्टै संसद् सुचारु हुने बताएका छन् । जनकपुरधाममा सञ्चारकर्मीहरूसँगको कुराकानीमा सभापति देउवाले सो प्रतिक्रिया दिएका हुन् ।

भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गरिरहेका बेलामा सभापति देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् । बजेटबाट सबैलाई खुसी बनाउन नसकिने भन्दै आलोचना हुनु सामान्य रहेको देउवाको भनाई छ ।
‘कांग्रेस र एमालेको गठबन्धन भएको तपाईँहरूलाई थाहै छ । यो राम्रोसँग चलिरहेको छ । बजेटबाट कोही खुसी हुँदैनन् । आलोचना त भइरहन्छ, के भयो र ?,’ देउवाले भने, ‘कतिपय कुराहरूमा असहमति होला तर भए पनि आखिर बजेट आएको छ । अब त खुल्नुपर्ने हो । अब खुल्छ । किन राजीनामा दिने भन्या ?’
साथै उनले अहिले सत्ता साझेदारी दलमा कुनै बेमेलको अवस्था नरहेको बताउँदै अहिलेकै समीकरण आगामी निर्वाचन सम्म रहेन दाबी गरे ।














