Logo
Logo

सरकारले प्रतिपक्षी नेतालाई छानिछानी प्रतिशोध साँधिरहेको छ : देव गुरुङ


504
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले वर्तमान सरकारले सत्ता र शक्तिको दुरुपयोग गरी प्रमुख प्रतिपक्षी दलका नेतालाई छानिछानी प्रतिशोध साँधिरहेको आरोप लगाएका छन् । शुक्रवार काठमाडौंमा संवाद डबलीले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले सत्तापक्षका नेताहरूलाई भने संरक्षण प्रदान गरेको दाबी गरे ।

“माधवकुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा दायर गर्नु, रास्वपाका सभापति रवि लामिछानेविरुद्ध कानुनी कारबाही थाल्नु, कुलमान घिसिङलाई हटाउनु, र काठमाडौंका मेयर बालेन शाहलाई निशाना बनाउनु सरकारको प्रतिशोध र बदलाभावको स्पष्ट सङ्केत हो,” गुरुङले भने ।

उनले माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र नेता सूर्यमान दोङमाथि लागेका मुद्दाहरूलाई नियमित अदालतको सट्टा सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी)मार्फत समाधान गर्नुपर्ने बताए । “अर्जुन लामाको परिवारले टीआरसीबाट राहत रकम लिइसकेर पनि अदालतमा छानबिन र कारबाहीको माग गर्नु विस्तृत शान्ति सम्झौता र टीआरसीको मर्मविपरीत छ,” उनले भने ।

गुरुङले सरकारको यो रवैयाले लोकतान्त्रिक मूल्यमान्यता र शान्ति प्रक्रियामाथि नै प्रश्न उठेको बताए  उनले प्रतिपक्षी दलहरूलाई कमजोर बनाउन सरकारले यस्ता कदम चालेको आरोप लगाउँदै यस्ता कार्यले राजनीतिक स्थिरतामा असर पर्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्