काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजमा शुक्रवार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापाको प्रमुख आतिथ्यतामा १९१८४औँ समूहको प्रहरी निरीक्षक आधारभूत तालिमको उद्घाटन सम्पन्न भएको छ ।

उद्घाटन समारोहमा प्रहरी महानिरीक्षक थापाले तालिमले सहभागीहरूलाई कुशल, व्यावसायिक र अनुशासित प्रहरी अधिकृतको रूपमा रूपान्तरण गरी सङ्गठन र राष्ट्रप्रति समर्पित बनाउने बताए। उनले बदलिँदो परिस्थितिमा पुलिस सेवाको चुनौतीपूर्ण प्रकृतिलाई उजागर गर्दै तालिममा सिकाइने ज्ञान, सीप र कौशलले जटिल परिस्थितिहरूको सामना गर्न प्रभावकारी हुने कुरामा जोड दिए । उनले तालिम अवधिमा अनुशासन, मर्यादा, लगनशीलता र धैर्यका साथ उच्च मनोबल कायम राख्न प्रशिक्षार्थीहरूलाई प्रेरित गरे ।
कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गरे भने तालिम संयोजक प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईले स्वागत मन्तव्यसहित तालिमको संक्षिप्त जानकारी प्रस्तुत गरे ।
सोही दिन प्रहरी महानिरीक्षक थापाले प्रतिष्ठानको निरीक्षण भ्रमण गरे । भ्रमणका क्रममा उहाँले नवनिर्मित आवास भवन, फिजियोथेरापी कक्ष, इन्डोर क्रिकेट अभ्यास मैदान, शैलुन, नेपाल पुलिस स्टाफ कलेजको कार्यालय भवन, कक्षाकोठा, विद्यार्थी अधिकृत व्यारेक, सिनियर प्रहरी अधिकृत मेस र नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयको प्रयोगशाला अवलोकन गर्नुभयो। साथै, उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा निर्देशन दिए र प्रतिष्ठान परिसरमा वृक्षारोपण गरे ।














