Logo
Logo

हाउजिङ र अपार्टमेन्टमा अवैध धन्दा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ साउन । काठमाडौंका हाउजिङ र अपार्टमेन्टमा भिआइपीहरु बस्छन् भन्ने आम बुझाई छ । तर, त्यहाँ राम्रा व्यक्ति मात्र बस्दैनन्, गलत गतिविधिमा लागेका व्यक्तिले पनि हाउजिङलाई अखडा बनाएका छन् । हाउजिङ र अपार्टमेन्टमा बसेर अवैध गतिविधि गर्ने प्रवृत्ती बढ्न थालेको प्रहरीले जनाएको छ ।

हालै मात्र यस्ता दुई वटा घटना उपत्यकामा देखिएका छन् । भक्तपुरको रोज भिलेज हाउजिङमा बस्दै आएका दुई युवतीले ठगी र अनैतिक धन्दा चलाउँदै आएको खुलेको छ । गत १० साउनमा पक्राउ परेका बाग्लुङ स्थायी घर भएका २७ वर्षिया कोपिला शर्मा र १९ वर्षिया अमिमा केसीले त्यहाँ घर भाडामा लिएर अनैतिक गतिविधि गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको थियो । कुनै पेशा नभएका उनीहरु हाउजिङमा घर नै भाडामा लिएर बस्दै आएका थिए । उनीहरुले टिकटक तथा फेसुकमार्फत युवाहरुसँग चिनजान गरी अमेरिका लैजाने भनेर ठगी गरेको प्रहरीले जनाएको छ । आफुहरु अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएको र बिहे गरेर अमेरिका लैजाने भन्दै पैसा लिएर ठगी गरेको खुल्न आएको छ ।

पीडितलाई टिकटक तथा फेसबुकमार्फत चिनजान गरेको र आफुहरु डिभी परेर अमेरिका आएको भन्दै उनीहरुले भ्रममा पारेको ठगेको अपराध महाशाखाका एसपी ईश्वर कार्कीले बताए । शर्माले अमेरिकामा डिपाटमेन्ट स्टोर सञ्चालनका लागि भनेर पाँच लाख मागेकी थिइन् । केसीले ऋण तिर्न भनेर पैसा मागेको र पछि उनीहरु सम्पर्कविहिन भएका थिए । त्यसरी पैसा लिनुअघि उनीहरुले ती युवकलाई बिहे गरेर अमेरिका लैजाने आश्वासन दिएका थिए । केसीले भने पीडितको छोरीलाई मितेनी बनाई अमेरिका लैजाने विश्वास दिलाएर एक लाख ६० हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ । उनीहरुमध्ये कोपिलाले त आफुलाई डिभी परेको भनेर एक युवकलाई झुक्याएर बिहे नै गरेकोसमेत खुलेको छ । वास्तविकता थाहा पाएपछि युवकले डिभोर्स गरेका थिए ।

त्यस्तै कमलपोखरीस्थित एक अपार्टमेन्टलाई भने केही अपराधिक समूहले अखडा बनाएका छन् । दुई साताअघि चाँदीमा सुनको जलप लगाएर तस्करी गर्न खोज्ने समूहका नाइकेहरु सो अपार्टमेन्टमा बस्दै आएका थिए । विगतमा नक्कली नोटको कारोबारमा संलग्न रहेका इल्ताफ अन्सारीको समूहले मासिक एक लाख रुपैया ँतिरेर एउटा फ्लाट भाडामा लिएको थियो । सोही अपार्टमेन्टबाट निस्कदै गर्दा प्रहरीले पिछा गरी सुन बरामद गरेको थियो ।

अपार्टमेन्ट र हाउजिङमा एकले अर्कालाई मतलब नगर्ने भएकाले यस्ता अवैध गतिविधि गर्नेहरुलाई सहज भएको छ । त्यहाँ बस्नेहरुको विवरण प्रहरीले समेत राख्ने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्