काठमाडौैं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिलेको राजनीतिक सङ्कटको विकल्प समाजवाद भएको बताएका छन् । साइप्रस कम्युनिस्ट पार्टी (एकेल) को स्थापनाको १००औँ वार्षिकोत्सवका अवसरमा नोभेम्बर ७ मा निकोसियामा आयोजित अन्तर्राष्ट्रिय संगोष्ठीलाई सम्बोधन गर्दै ज्ञवालीले समकालीन पुँजीवादले सिर्जना गरेको असमानता, गरिबी र सामाजिक विभाजनको अन्त्यका लागि समाजवादी विकल्प आवश्यक रहेको बताएका हुन् ।

उनले विश्वमा सम्पत्ति, वैज्ञानिक ज्ञान र उत्पादन क्षमता अभूतपूर्व रूपमा बढे पनि त्यसको लाभ सीमित धनाढ्य वर्गमा केन्द्रित भएको बताए । करिब एक अर्ब मानिस चरम गरिबीमा रहनु, श्रमिकले रोजगारीको असुरक्षा र न्यून ज्यालाको सामना गर्नु तथा शिक्षा, स्वास्थ्य र आवासजस्ता आधारभूत आवश्यकता बजारको वस्तु बन्नु पुँजीवादी व्यवस्थाका गम्भीर समस्या भएको उनको भनाइ छ ।
ज्ञवालीले अन्तर्राष्ट्रिय सम्बन्धमा शक्ति प्रयोग र प्रभुत्वभन्दा अन्तर्राष्ट्रिय कानुन, राष्ट्रिय सार्वभौमसत्ता र संवादलाई प्राथमिकता दिनुपर्ने बताए । शान्ति शक्तिशाली राष्ट्रहरूको विशेषाधिकार नभई सबै राष्ट्रको मौलिक अधिकार भएको उनको भनाइ छ ।
समाजवाद कुनै तयार सिद्धान्त वा विगतको सङ्घर्षको स्मृतिमा सीमित नभई शोषण र असमानताविरुद्धको ऐतिहासिक विकल्प भएको उल्लेख गर्दै उनले माक्सवादलाई बदलिँदो विश्व परिवेशअनुसार सिर्जनात्मक रूपमा प्रयोग गर्नुपर्ने ज्ञवालीको भनाइ छ । कृत्रिम बौद्धिकता र डिजिटल प्रविधिको विकास मानव कल्याणका लागि उपयोग हुनुपर्ने भन्दै उनले प्रविधिमाथि कर्पोरेट नियन्त्रण बढ्दा रोजगारी विस्थापन र सम्पत्तिको केन्द्रीकरणको जोखिम रहेको औँल्याए ।
नेपालको राजनीतिक अनुभव प्रस्तुत गर्दै ज्ञवालीले एमालेले मार्क्सवाद र जनताको बहुदलीय जनवादलाई नेपालको विशिष्ट परिस्थितिअनुसार अवलम्बन गरेको बताए । राजनीतिक बहुलवाद, संवैधानिक शासन र सामाजिक न्यायलाई एकीकृत गर्ने जबजको अवधारणा लोकतन्त्र र सामाजिक रूपान्तरणको आधार भएको उनको भनाइ थियो ।
उनले लोकतान्त्रिक संस्थाहरूको विनाशलाई क्रान्ति मान्न नसकिने उल्लेख गर्दै राजनीतिक परिवर्तनको माध्यम हिंसा नभई शान्तिपूर्ण लोकतान्त्रिक प्रतिस्पर्धा हुनुपर्ने बताए ।


















