Logo
Logo

अजोड इन्स्योरेन्सको नाफा ५० र बीमा शुल्क १०७ प्रतिशतले वृद्धि


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ मा रु ६ करोड २० लाख नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा रु २ करोड ८ लाख ७९ हजारले बढी हो ।

तीन वर्षअघि सञ्चालनमा आएको यो कम्पनीको व्यवसाय र नाफाका सूचकांक राम्रा देखिएका छन् । गत आर्थिक वर्षमा यस कम्पनीले रु ८६ करोड १२ लाख बीमा शुल्क आर्जन गर्न सफल भएको देखिन्छ । अघिल्लो वर्ष कम्पनीले जम्मा रु ४१ करोड ४९ लाख बीमा शुल्क आर्जन गरेको थियो ।

आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा कम्पनीको बीमा शुल्क आर्जन १०७ प्रतिशतले वृद्धि भएको छ भने नफा ५० प्रतिशतले वृद्धि भएको छ । ९१ हजार २२७ बीमालेख जारी गरेको कम्पनीले एक हजार ९८० वटा दाबीमार्फत रु २२ करोड ५४ लाख भुक्तानी गरेको छ । असार मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी रु ७१ करोड ५० लाख छ । केही महिनाअघि निष्काशन गरेको रु ३० करोड बराबरको साधारण सेयरबापत संकलित रकम असार मसान्तमा कम्पनीले पूँजीकरण गर्न बाँकी रहेको देखिएको छ ।

कम्पनीको जगेडा कोषमा रु चार करोड ५४ लाख छ भने बीमा कोषमा रु ६ करोड १६ लाख रहेको छ । अजोडको प्रतिसेयर आम्दानी रु ८.८६ छ भने प्रतिसेयर नेटवर्थ रु ११५.९७ छ । गत सोमबार कम्पनीको सेयर प्रतिकित्ता रु ५१३ मा कारोबार भएको छ । रु १०० मा साधारण सेयर भर्नेहरुका लागि अहिले नै प्रतिकित्ता ४०० भन्दा बढी फाइदा छ ।

प्रतिक्रिया दिनुहोस्