
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी हुन सबै जनप्रतिनिधिलाई आग्रह गरेकी छन् । सामाजिक सञ्जालमार्फत उनले संविधान र कानूनले तोकेको परिधिभित्र रहेर, खुला छलफल गरी संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी हुन अपिल गरेकी हुन् ।
मेयर बालेन शाह र प्रमुख कार्यकारी अधिकृत बीचको असमझदारीका कारण काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०८२/८३ को बजेट ल्याउन नसकिरहेका बेला उपप्रमुखले बजेट ल्याउनका लागि खुला छलफल गर्न र हातेमालो गरी अघि बढ्न भनेकी हुन् ।
‘वातावरण बिगार्ने होइन सम्हालेर, आवेग र उत्तेजनामा होइन संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी बनौँ,’ उनले भनेकी छन्, ‘डुंगा प्वाल पारेर अरुलाई खसाल्ने र आफू मात्रै बाच्ने दुर्भाग्यको बाटो रोज्ने, खोज्ने प्रयास नगरौं । हामी सबै हातेमालो गरेर अघि बढौं ।’
कानुनी व्यवस्था अनुसार स्थानीय तहले असार १० गते नै बजेट प्रस्तुत गर्नुपर्ने र मसान्तभित्र पारित गरिसक्नुपर्छ । तर आजसम्म पनि बजेट निर्माणका लागि आवश्यक पर्ने कार्यपालिका र नगरसभाका बैठक मात्रै होइन, बजेट तर्जुमा तथा कार्यत्रम समिति र मेयर नेतृत्वको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति जस्ता महत्वपूर्ण समितिका बैठकसमेत बस्न सकेको छैन ।














