काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि गठित सिफारिस समितिले तीन जनाको नाम प्रस्ताव गरेको छ । समितिले सोमबार कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नाम सिफारिस गरेको हो । यद्यपि, सिफारिस गरिएका तीन जनाको नाम सार्वजनिक गरिएको छैन ।

उपकुलपति पदका लागि १२ जना प्रतिस्पर्धामा थिए । तीमध्ये प्रा.डा.खड्ग केसी, प्रा.डा. विनिल अर्याल, प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, प्रा.डा. उपेन्द्र कोइराला र प्राध्यापक डिल्ली उप्रेतीको नाम चर्चामा छ ।
प्रधानमन्त्री ओलीले गत ६ जेठमा सहकुलपति तथा शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय छनोट सिफारिस समिति गठन गरेका थिए ।
गत १५ चैतमा प्रा.डा.केसरजङ्ग बरालले राजीनामा दिएपछि उपकुलपति पद रिक्त थियो । अब सिफारिस गरिएका तीन जनामध्येबाट एक जनालाई कुलपति ओलीले उपकुलपतिमा नियुक्त गर्नेछन् ।














