काठमाडौं । रसुवामा बाढीपीडितको उद्दारका लागि गएको नेपाली सेनाको हेलिकोप्टरलाई चीनले ‘होल्ड’ गरेको दाबी गरिएको छ । तर, यसबारे आधिकारिक पुष्टि भने भइसकेको छैन ।

स्रोतको अनुसार अनुसार हेलिकोप्टर चिनियाँ भूभागमा पूर्वअनुमति बिना पुगेको भन्दै त्यहाँका अधिकारीहरूले रोकेको बताइएको छ । तर, नेपाली सेनाले भने चिनियाँ सीमाभित्र फसेका नेपाली नागरिकको उद्दारका क्रममा हेलिकोप्टर ‘फल्ट’ भएर चिनियाँ भूभागमै अवतरण भएको जनाएको छ । सेनाले उक्त हेलिकोप्टर आजका लागि त्यतै रोकिएको जानकारी दिएको छ ।
यसबीच, बाढी र पहिरोमा परी मृत्यु भएका सात जनाको शव फेला परेको छ भने अझै १८ जना बेपत्ता छन् । बेपत्तामध्ये तीन जना नेपाल प्रहरी, नौ जना सर्वसाधारण र छ जना चिनियाँ नागरिक रहेको बताइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीद्वारा हालसम्म ५७ जनाको सकुशल उद्दार गरिएको छ । यसै क्रममा, बिहानैदेखि नेपाली सेनाका दुईवटा हेलिकोप्टर खोज तथा उद्दारमा खटिएका थिए।














