काठमाडौं । हालको नेपाली महिला फुटबल टिमलाई ‘गोल्डेन जेनेरेशन’ भनेर चिनिन्छ । पछिल्ला वर्षहरूमा टिमले प्रदर्शनमा उल्लेखनीय सुधार गरेको छ । तर, निर्णायक क्षणहरूमा भने सँधै निराशा ब्यहोर्दै आएको छ ।
१३ पटक फाइनल पुगे पनि कुनै उपाधि जित्न नसकेको यो टिमले पछिल्लो पटक एएफसी महिला एशियन कप २०२६ को छनोटमा पनि सोही नियति दोहोर्याएको छ । उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित भएसँगै नेपाल एशियन कपमा छनोट हुन असफल भयो ।

यो हारसँगै नेपालले भविष्यका ठूला प्रतियोगिता खेल्ने अवसर पनि गुमायो । नेपाल एशियन कपमा छनोट हुन नसक्दा २०२७ को फिफा महिला विश्वकप र २०२८ को लस एन्जलस ओलम्पिकको छनोटमा सहभागी हुने ढोका समेत बन्द भयो ।
खेलमा हारजित स्वाभाविक हो, तर यसपटकको पराजय पछाडि गम्भीर समस्याहरू देखिएका छन् । नेपाली महिला टिमभित्रको आन्तरिक विवाद, खेलाडीमाथिको अनावश्यक दबाब र अखिल नेपाल फुटबल संघ (एन्फा)को चरम राजनीतिक हस्तक्षेप छरपस्ट भएको छ ।
छनोट प्रतियोगिताको पूवसन्ध्यमा प्रशिक्षक प्याट्रिक डे वाइल्डले नियमित कप्तान अन्जिला तुम्बापो सुब्बालाई कप्तानी र गोलकिपिङ दुवै जिम्मेवारीबाट हटाए । प्याट्रिकले कप्तानमा सावित्रालाई र गोलकिपरमा अञ्जनालाई जिम्मेवारी दिए ।
एन्फाले सुरुमा कप्तानमा रेनुका नगरकोटीको नाम सार्वजनिक गरेको थियो । तर, पछि सावित्रालाई कप्तानी दिइएको भन्दै एन्फाले नै नाम परिवर्तन ग¥यो । यो परिवर्तनले टिमभित्रको असमझदारी उजागर ग¥यो, जसको असर मैदानमा पनि देखियो । सावित्राले कप्तान चयन गर्ने विषयमा केही चुनौतीपूर्ण रहेको र विवाद भएको स्वीकार गरिन् ।
उनको भनाइ छ, ‘कप्तानको विषय हाम्रो टोलीभित्रको कुरा हो। हामीले अहिले एक टोली भएर खेलेका छौं। भोलिको दिनमा यस्तो खालको विवाद नआओस्। हामी सबै २३ खेलाडी नै एक होस्। बाहिर बसेर फुटबल हेर्ने हाम्रो लागि कप्तान सरह नै हुनुहुन्छ। यो छनोटमा मेहनत गर्ने सबै खेलाडीले टोलीका लागि लड्नुभयो। उहाँहरू पनि कप्तान हुनुहुन्छ। हामी २३ खेलाडीमा २३ जना नै कप्तान छौं। मैले कप्तानको आर्म ब्यान्ड लगाउँदैमा सबै कुरा परिवर्तन गर्न सक्छु भन्ने होइन। सबैको आफ्नो भूमिका हुन्छ। आफ्नो भूमिकामा बसेर देशका लागि प्रतिबद्ध भएर खेल्न सक्यो भने हामी २३ खेलाडीमा २३ नै सक्षम छौं। कप्तानको जिम्मेवारी पाउँदा १०-११ वर्षको करिअरमा खुसी पनि थिए। छुट्टै भूमिका दबाब पनि थियो।’
विवादको अर्को पाटो खेलाडीमाथिको अनावश्यक दबाब हो । खेलअघि प्रधानमन्त्रीसँगको भिडियो कन्फ्रेन्सले खेलाडीहरूलाई थप तनावमा राखेको प्रशिक्ष वाइल्डको दाबी छ । उज्बेकिस्तानविरुद्धको फाइनल खेलको टाइब्रेकरमा तीन–चार खेलाडीले पेनाल्टी प्रहार गर्न नमानेको समेत उनले खुलासा गरेका छन् ।
एकमहिना अघि मात्रै राष्ट्रिय महिला टिमका प्रशिक्षक बनेका वाइल्डले खेलमा भएको राजनीतिप्रति पनि तीव्र असन्तुष्टि जनाएका छन् । एन्फाको व्यवस्थापकिय कमजोरीप्रति आक्रोश व्यक्त गर्दै उनले खेलाडीहरूका लागि राम्रो होटलको व्यवस्था नभएको, प्रशिक्षणका लागि आवश्यक सामग्रीको अभाव भएको र सङ्घको ध्यान योजनाभन्दा राजनीतिमा केन्द्रित रहेको आरोप लगाएका छन् ।
उनले यही अवस्था कायम रहे आफू नेपाल नफर्किनेसम्मको चेतावनी दिएका छन् । तर, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले भने प्रशिक्षकको आरोपप्रति कुनै ठोस जवाफ नदिई आलटाले प्रतिक्रिया दिएका छन् । उनले प्रशिक्षक वाइल्डको अभिव्यक्ति सत्य नहोस् भन्ने कामना मात्रै गरेका छन् ।
उनले भने– ‘उहाँ जत्तिको एउटा व्यावसायिक प्रशिक्षकले त्यतिसम्मको कुराहरु गर्दाखेरी टिमलाई, संस्थालाई, खेलाडीलाई प्रशिक्षक स्वयं उहाँलाई त्यसको सकरात्मक भन्दा नकरात्मक असर हुन जान्छ । त्यो होइन होला । त्यो कसैले बोलेको झुक्केर नाम मिलेको जस्तो लाग्छ मलाई ।’
के भन्छन् अफिसियल ?
एएफसी महिला एसियन कप छनोटमा टोलीमा समस्या आउनुको मुख्य कारण प्रशिक्षक प्याट्रिक डे वाइल्ड रहेको टोलीका अन्य अफिसियल आरोप लगाएका छन् ।
हेड अफ डेलिगेट्स रहेकी अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य सरिला श्रेष्ठ मालेकु, व्यवस्थापक विन्द्रा देवान, सहायक प्रशिक्षक राजेन्द्र तामाङ र प्राविधिक निर्देशक हरि खड्काले आज संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै डे वाइल्डकै कारण समन्वयमा समस्या रहेको दाबी गरेका छन् ।
हेड अफ डेलिगेट्स श्रेष्ठले आफूहरुलाई सावित्रा भण्डारी ‘साम्बा’कप्तान हुँदा कुनै समस्या नभएपनि समयमा मुख्य प्रशिक्षकले कप्तानको नाम जानकारी नदिँदा लाओसको खेलअघि केही तनाब भएको स्वीकार गरिन् ।
‘प्रशिक्षकले खेल सुरु हुनुभन्दा ९० मिनेट अगाडि सम्म नाम दिनुभएन । एन्फामा नाम पठाउन समयको दबाब भइरहेको थियो । हामीलाई प्लेइङको नाम दिएपनि त्यसमा कप्तान तोकिएको थिएन्, उनले भनिन्, ‘उहाँले नाम नदिएपछि विगतको परम्परा अनुसार सिनियर खेलाडीका आधारमा रेनुका नगरकोटेलाई कप्तान भनेर पठायौं । त्यहि अनुसार रेनुकालाई आर्म ब्यान्ड लगाइदिँदा त्यसमा प्रशिक्षकले आपत्ति जनाउनुभयो। साम्बा नै कप्तान हुनुपर्ने भन्नुभयो। विवाद नबढोस् भन्ने चाहनाना खेलाडीले पनि साम्बालाई नै दिम् भनेसी हामीले केही भनें । विन्द्रा जीले आर्मी बान्ड साम्बा लाई लाई दिनुभयो । एएफसीको मान्छेले एक जनाको नाम अर्कोले आर्म ब्यान्ड लगाएको छ भनेर प्रश्न गर्दा नि उहाँले त्यसलाई वेवास्ता गर्नुभयो।’
उज्वेकिस्तान जानुअघि नै कप्तानको घोषणा गरेर जानुपर्छ भन्ने सल्लाहलाई पनि उनले नमानेको श्रेष्ठको भनाई थियो । श्रेष्ठले साम्बा कप्तान हुनु सबैको लागि गर्वको विषय भएको जनाउँदै तर प्रशिक्षकले नाम लुकाउनुले यो विवाद आएको दाबी गरिन् । यसमा टोली व्यस्थापकको कुनै गल्ती नभएको उनले बताइन् ।
एन्फाका प्राविधिक हरि खड्काले डे वाइल्डले असन्तुष्टि पहिले एन्फासँग राख्नुपर्नेमा जोड दिए । प्रशिक्षकले आफूलाई पत्र पठाएको स्मरण गर्दै उनलाई अहिले आफ्नोे लक्ष्यमा केन्द्रित हुने सुझाव दिएपछि त्यसलाई स्वीकार गरेको पनि खड्काले बताए ।
सहायक प्रशिक्षक तामाङले प्रो लाइसेन्स प्रशिक्षकसँग सिक्नका लागि आफू उनको सहायक बनेको बताए । उनले उज्वेकिस्तान जानुअघि साम्बा र गीता रानामध्ये एकलाई आफूले कप्तान बताउन चाहेको बताएको स्मारण गरे । व्यवस्थापक देवानले प्रशिक्षकको काममा आफूहरुले दख्खल नदिएको र टोलीको आवश्यकता अनुसारको व्यवस्थापन गरेको बताइन् ।
यसले पनि नेपाली महिला फुटबल राजनीतिबाट कसरी गुज्रिरहेको छ भन्ने प्रस्ट हुन्छ । एशियन कप खेलबाट आएको टिमभित्रको विवाद, प्रशिक्षकको असन्तुष्टि र एन्फामा विद्यमान राजनीतिको कारण नेपाली महिला फुटबलको भविष्यमा नै प्रश्नचिह्न खडा भएको छ । यी सबै घटनाले नेपाली महिला फुटबल अहिले गम्भीर राजनीतिक हस्तक्षेप र व्यवस्थापकीय कमजोरीको चपेटामा परेको स्पष्ट रूपमा देखाउँछ ।
नेपाली फुटबल सधैँ राजनीतिको शिकार बन्दै आएको छ । एन्फाभित्रको राजनीति र नेतृत्वको कार्यशैलीमाथि लामो समयदेखि प्रश्न उठ्दै आएको छ । यसअघि पुरुष टिमका कुबेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामाको घटनाले पनि एन्फाको राजनीति उदांगिएको थियो ।
साफ च्याम्पियनसिपको तयारीका क्रममा राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका उनले अचानक राजीनामा घोषणा गरेका थिए । एन्फाका तत्कालीन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण आफूले राजीनामा दिनुपर्ने भएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका थिए ।
नेपाली महिला फुटबलले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति गर्दै ‘गोल्डेन जेनेरेशन’को छवि बनाएको छ । तर, निरन्तरको निर्णायक हार, प्रशिक्षकको असन्तुष्टि, खेलाडीमाथिको मानसिक दबाब र एन्फाभित्रको राजनीतिको कारण यो सम्भावनाशील टिमको भविष्य अहिले संकटमा छ ।
यदि समयमै व्यवस्थापकीय सुधार, खेलमैत्री वातावरण र राजनीति–मुक्त रणनीति अपनाइएन भने महिला फुटबल पनि पुरुष फुटबलको नियतिमा फस्ने खतरा छ । अब एन्फा, सरकार र सरोकारवालाहरू एकजुट भई फुटबलको संरचना सुधार गर्न अग्रसर हुनु अपरिहार्य भएको छ । अब पनि ढिलो भयो भने, नेपाली महिला फुटबलले हालसम्म बनाएको पहिचान र सम्मान पनि गुम्ने देखिन्छ ।














