Logo
Logo

इजरायली आक्रमणबाट इरानी राष्ट्रपति पेजेस्कियान घाइते


एजेन्सी

3.2k
Shares

तेहरान । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकलाई लक्षित गरी गत जुन १५ मा तेहरानमा भएको इजरायली हवाई आक्रमणका क्रममा इरानका राष्ट्रपति मसूद पेजेशकियान सामान्य घाइते भएको अलजजिराले जनाएको छ ।

आक्रमणका क्रममा पेजेस्कियानको खुट्टामा सामान्य चोट लागेको थियो र उहाँलाई आपतकालीन निकासबाट भाग्न बाध्य पारिएको थियो । ‘इजरायलले यो आक्रमणका लागि मूल्य चुकाउनुपर्नेछ,’ आक्रमणपछिको पहिलो प्रतिक्रियामा उनले भने ।
आक्रमणमा सरकारका तीन शाखाका प्रमुखहरूलाई लक्षित गरी उनीहरूलाई अपदस्थ गर्ने प्रयास गरिएको थियो ।

अल जजिराका अनुसार पश्चिमी तेहरानमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को उच्चस्तरीय बैठकलाई लक्षित गरी इजरायली आक्रमण गरिएको थियो, जहाँ राष्ट्रपति मसूद पेजेस्कियान र सरकारका कार्यकारी, विधायिका र न्यायिक शाखाका प्रमुखहरूसहित अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए ।

इजरायली आक्रमणमा भवनको प्रवेशद्वार र निकासमा छ वटा क्षेप्यास्त्र प्रहार गरी भाग्ने मार्गलाई अवरुद्ध गर्नुका साथै हावाको बहावसमेत बन्द गरिएको थियो ।

विष्फोटपछि बिजुली काटिएको थियो, तर राष्ट्रपतिसहितका इरानी अधिकारीहरू पूर्व निर्धारित आपतकालीन प्वाल (ढोका) बाट भाग्न सफल हुनुभएको थियो । इजरायली श्रोतले राष्ट्रपतिलाई ढोकाबाट बाहिर निकाल्ने क्रममा खुट्टामा सामान्य चोट लागेको बताएको छ ।

अल जजीरा सञ्चार नेटवर्कका अनुसार अधिकारीहरूले ‘शत्रु’ सँग भएको गुप्तचर सूचनाको सटीकतालाई ध्यानमा राख्दै इजरायली जासुसहरूको सम्भावित उपस्थितिको बारेमा अनुसन्धान सुरु गरेका छन् ।

यसैबीच गत साता अमेरिकी सञ्चारमाध्यमका सदस्य टकर कार्लसनलाई दिएको अन्तर्वार्तामा पेजेस्कियानले इजरायलले उहाँको हत्या गर्न खोजेको बताएका थिए । के इजरायली सेनाले आक्रमण गरेको हो भन्ने प्रश्नमा उनले भने, ‘हो, तिनीहरूले प्रयास गरे तर तिनीहरू असफल भए ।’

उनले अगाडि भने, ‘मेरो जीवनमाथिको आक्रमण प्रयासको पछाडि संयुक्त राज्य अमेरिकाको हात थिएन । त्यो इज्रायल थियो । हामीले सभा गरिरहेको ठाउँमा तिनीहरूले बमबारी गर्ने कोसिस गरे । आक्रमणका समय म बैठकमा थिएँ ।’

इजरायलले जुन १३ मा इरानविरुद्ध एक्कासी बमबारी अभियान चलाएको र शीर्ष सैन्य कमाण्डर र आणविक वैज्ञानिकको मृत्यु भएको एक महिना पुग्नै लाग्दा राष्ट्रपति घाइते भएको खबर बाहिरिएको हो । इरानको फाउन्डेसन अफ मार्टर एन्ड भेट्रान्स अफेयर्सका अनुसार द्वन्द्वका क्रममा इरानमा कम्तीमा एक हजार ६० जनाको मृत्यु भएको थियो ।

इजरायली आक्रमणमा प्रतिशोधात्मक ड्रोन र क्षेप्यास्त्र प्रहार भएको र इजरायलमा २८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अमेरिकाले युद्धविरामको मध्यस्थता गर्नुअघि इरानले इजरायली सेना र गुप्तचर मुख्यालयलाई ब्यालेस्टिक क्षेप्यास्त्र र ड्रोनद्वारा निशाना बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्