Logo
Logo

वीर अस्पतालको क्यान्टिनमा अनियमितता


2.6k
Shares

काठमाडौं । वीर अस्पतालमा गैरकानुनी रुपमा संचालित चमेनागृहलाई हटाई सो चमेनागृह संचालन गर्न दिने दोषीलाई करबाही गर्न माग गर्दै विभिन्न निकायमा उजुरी परेको छ । उजुरीमा अस्पतालमा गैरकानुनी रुपमा क्यान्टिन (चमेनागृह) हटाउन र दोषीमाथि कारबाही गर्न माग गरिएको छ ।

वीर अस्पतालले चमेनागृह संचालनका लागि २०८१ कात्तिक ९ सूचना प्रकाशित गरेकामा गुजेश्वरी होटल प्रा लि, जी एन्ड बी क्याफे, सुनिल क्यान्टिन तथा कपडा पसल, शिवांश फूड एन्ड क्यान्टिन, आरएस मल्टिप्रपोज, नारायणी चमेनागृहर ग्रिनवर्ड बेकरी क्याफेले बोलपत्र प्रस्ताव पेश गरेका थिए ।

ठेक्का मूल्यांकन समितिमा रहेका लेखाका उपसचिव हिमलाल अधिकारी, लेखाअधिकृत महानराज ओलीले योग्यता नै नपुगेको गुजेश्वरी होटल प्रालिलाई २०८१ मंसिर २२ मा अस्पतालको क्यान्टिन संचालन सम्झौता गरेका थिए । अधिकारी र ओलीले सेटिङमा क्यान्टिन संचालन अनुमति दिएको आरोप छ ।

उजुरीमा गुजेश्वरीले क्यान्टिन संचालन गर्नका लागि २५ लाख कमिसन दिएको आरोप लगाइएको छ । क्यान्टिन संचालनको लागि टेण्डर सूचना प्रकाशित गर्दा उक्त सूचनाको भाग २ को बुँदा नंं २ (च) (छ) (ज) मा भएको अनिवार्यरुपमा पेशगर्नुपर्ने कागजात र न्यूनतम योग्यताका आधारहरु पेश नगरेको, नक्कली कागजातहरु पेश गरेको थियो । लेखाका उपसचिव हिमलाल अधिकारी र लेखाअधिकृत महानराज ओलीले गुजेश्वरीसँग प्रभावित भएर सम्झौता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको उजुरीमा उल्लेख छ ।

गुजेश्वरीले चमेनागृह संचालन सम्बन्धी १५ दिने सिलवन्दी प्रस्ताव सूचनामा अनिवार्यरुपमा पेशगर्नुपर्ने कागजात र न्यूनतम योग्यताका ७ बर्षको कार्य अनुभव र हाल उक्त सेवा संचालन गरिरहेको प्रमाणपत्र नक्कली पेश गरेको, स्वच्छताको न्यूनतम गुणस्तर प्रतिवेदन पेश नगरेको उल्लेख छ ।

एक प्रमुख भान्छे र तीन जना भान्छेको व्यक्तिगत विवरण, योग्यता, अनुभव र प्रशिक्षण पेश गरेको हुनुपर्नेमा क्यान्टिनको अनुमति पाएको गुजेश्वरी होटलले ती कुनै पनि पेश नगरेको उल्लेख छ । योग्यता नपुगेको स्पष्ट हुँदाहुँदै लेखाका उपसचिव अधिकारी र लेखाअधिकृत महानराज ओलीले सेटिङमा गुजेश्वरी होटलसँग सम्झौता गरेको उजुरीमा उल्लेख छ । गुजेश्वरीले खानेकुरा पनि महङ्गो र गुणस्तरहीन खुवाउनुका अतिरिक्त सफाइ पनि नभएको उजुरीमा उल्लेख छ ।

लेखाका उपसचिव र अधिकृतसँग् सेटिङ गरी क्यान्टिनको ठेक्का पाएको उक्त होटलले खानाखाजाको दररेट पनि अस्वाभाविक राखेको आरोप छ ।

सतर्कता केन्द्रले त गुजेश्वरीलाई ऐन नियम बिपरीत क्यान्टिनको ठेक्का दिएकाले रद्द गर्न २०८२ बैशाख ९ गते नै निर्देशन दिएको थियो ।

गुजेश्वरी होटल प्रालिको स्वीकृत प्रस्ताव सार्वजनिक खरिद ऐन, २०६३, नियमावली, २०६४ तथा प्रस्ताव गरेको आधारभूत शर्त र मापदण्डविपरीत भएको देखिंदा उक्त प्रस्तावलाई रद्द गरी पेश भएका क्राइटेरिया पुगेका प्रस्तावदाताहरुमध्येबाट सारभूत रूपमा प्रभावग्राही प्रस्ताव छनौट गर्न गराउनुहुन र सो को जानकारी यस केन्द्रमा गराउनुहुन भ्रष्टाचार निवारण (पहिलो संशोधन) ऐन, २०६१ को दफा ३८ (छ) बमोजिम निर्देशन दिएको छ । तर सतर्कताले दिएको निर्देशन समेत वीर अस्पतालका लेखाका उपसचिव अधिकारी र लेखाअधिकृत ओलीले पालना गरेका छैनन् ।

वीर अस्पतालका लेखाका उपसचिव अधिकारी र अधिकृत ओलीले क्यान्टिनदेखि अन्य सामान खरिदमा अनियमितता गरी अकूत सम्पत्ति आर्जन गरेकाले छानबिनको माग गर्दै अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र र सम्पत्ति शुद्धीकरण अनुसन्धान अनुसन्धान बिभागमा समेत उजुरी परेको छ ।

प्रतिक्रिया दिनुहोस्