काठमाडौं । चितवनको भरतपुर–२७, बुद्धनगरबाट एउटा बाघलाई सुरक्षित नियन्त्रणमा लिइएको छ । नेपाली सेना, प्रहरी, वन कार्यालय र चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले संयुक्त रूपमा मङ्गलवार साँझ बाघलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार बाघलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको छ । आइतबार साँझ बुद्धनगरको झाडीमा बाघ देखिएको स्थानीयले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दिव्यनगरबाट प्रहरी नायब निरीक्षक विनोद अधिकारीको नेतृत्वमा टोली खटिएको थियो ।
स्थानीयको सुरक्षाका लागि सेना र वन कार्यालयको टोली पनि परिचालित भएको थियो। सोमबारदेखि बाघलाई नियन्त्रणमा लिने प्रयास जारी रहेकोमा मङ्गलवार दिउँसो ४:३० बजे बाघलाई सुरक्षित रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।














