Logo
Logo

सब्बलको भरमा चट्टान फुटाएर घोरेटो बाटो निर्माण


945
Shares

दार्चुला  । नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीमाथि व्यास गाउँपालिकाका युवाले चट्टान फुटाएर अहिले मानिस हिँड्न घोरेटो बाटो बनाएका छन्। व्यासको वडा नम्बर १ र २ जोड्ने पैदल बाटो नभएपछि स्थानीयले चट्टान फोडेर बाटो बनाएका हुन्।

The current image has no alternative text. The file name is: bato.gif

महाकाली नदीको छेउको ठाडो चट्टान फोडेर आफ्नै भूमिमा पाइला टेक्न सकिने बाटो व्यासका युवाले ज्यानको बाजी राखेर बनाएका छन् । व्यास–२ का युवा जनकसिंह धामीको नेतृत्वमा यो काम भएको हो। व्यास–१ को छाङरु र तिंकर तथा वडा नम्बर २ को दुम्लिङ कल्जु गाउँ जोड्न स्थानीयले घोरेटो बाटो बनाएका हुन्।

गाउँ जानुपर्दा जहिल्यै भारतको बाटो हिँड्नुपर्ने र भारतीय प्रहरीको अनुमतिविना गाउँ जान नसकिने भएपछि यहाँका स्थानीय यो अवस्थाको अन्त्यका लागि यस्तो जोखिम उठाएर बाटो बनाएको धामी सुनाउँछन्। ‘यो बाटोले दुई वडामात्र होइन, देशको भूगोल समेत जोडेको छ, यो बाटोमा जोखिमपूर्ण काम गरेबापत मजदुरले दैनिक एक हजारदेखि एक हजार ५०० ज्याला लिए’, उनले भने।

व्यासका दुई वडा जोड्ने परम्परागत घोडेटो बाटो भत्किएका कारण यो क्षेत्रमा आवतजावत ठप्प थियो। महाकाली नदी किनारैकिनार पैदल बाटो रहेकामा भारतले निर्माण गरेको सडकका कारण पूरै नदीको धार नेपालतर्फ आउँदा बाटो भत्किएपछि नेपालका दुई गाउँ जान बाटो थिएन। बाटो भत्किएपछि सुदूरपश्चिम प्रदेश सरकारले २०७७ सालमा नेपाली सेनाको सहयोगमा ४५० मिटर घोडेटो बाटो खोलेको थियो। त्यो बाटो एक वर्ष पनि टिकेन।

सबैभन्दा कठिन भूगोल रहेको ‘थी भीर’ क्षेत्रको पैदल बाटो बनाउने जिम्मेवारी पाएका धामीसँग गाउँका ४३ युवाको साथ थियो। उनले भने, ‘ज्यानको मायाभन्दा मातृभूमि र राष्ट्रको माया बढी भएरै बाटो बनाएका छौं, सबैले सहयोग नगरेको भए यो वर्ष पनि बाटो बन्न सम्भव थिएन।’

घोडेटो बाटोमा काम गरेका उज्ज्वलसिह महता बाँदर नचढ्ने भीरमा डोरी लगाएर काम गर्दा पनि अप्ठ्यारो मसुस नभएको बताउँछन् । ‘एकातिर कडा चट्टान थियो, तल हेर्दा पूरै महाकाली नदीले हानिरहेको, थोरै गल्ती भएको भए सक्कियो, काम गर्ने वेलाको समय सम्झिँदा अहिले पनि आङ जिरिङ हुन्छ’, उनले भने ।

सडक पहुँच नभएकाले दार्चुलाको छाङरु र तिंकर गाउँ पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको तीन दशक भएको थियो। अहिले सबै क्षेत्रमा बाटो निर्माण भइरहेको छ। थोरै भए पनि राहत महसुस भएको बाटो निर्माणमा खटिएका डम्मरसिंह धामीको भनाइ छ।

‘परम्परागत बाटोको नाम निसाना मेटिएको थियो, पूरै कडा चट्टान डोरीमा अड्किएर काम गरियो’, उनले भने, ‘यो बाटो खुलेपछि व्यासको वडा नम्बर १ को छाङरु तथा तिंकर र वडा नम्बर २ को दुम्लिङ गाउँ घोडेटो बाटोले जोडेको छ।’

गाउँपालिकाले बोलपत्र आह्वान गरेर बाटो बनाएको हो। बाटो निर्माणको जिम्मा मिसन–देवहरी जेभी निर्माण कम्पनीले गरेको हो। कुल पाँच करोड ६ लाख नौ हजार ९९४ लागतमा घोरेटो बाटो निर्माणको ठेक्का पाएकामा असार मसान्तसम्म ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको निर्माण व्यवसायी केशवबहादुर पालले बताए। ‘निकै जोखिमपूर्ण क्षेत्रमा काम थियो,’ निर्माण व्यवसायी पालले भने, ‘तैपनि मजदुरले रातदिन काम गरेर यत्ति प्रगति भयो।’

निर्माण कार्य नसकिएको भन्दै आगामी मङ्सिर १५ गतेसम्म म्याद थप गरिएको छ। अहिले अपि खोला लगायतका क्षेत्रमा पुल निर्माण र बाटो मर्मतको काम चलिरहेको निर्माण व्यवसायी पालले बताए। मजदुर लगाएर अहिले पनि थी भीरभन्दा माथिल्लो क्षेत्रमा काम चलिरहेको छ। व्यासवासीलाई आफ्नै बाटो हिँडाउने गरी बाटोको काम भइरहेको उनको भनाइ छ।

गाउँपालिकाका सबइन्जिनियर जगतसिंह डडालका अनुसार हालसम्म घोडेटो बाटो निर्माणमा चार करोड १३ लाख ३३ हजार २०१ खर्च भइसकेको छ। निर्माण कम्पनीले व्यासको वडा नम्बर २ र १ मा पर्ने तम्बाकु, माल्पा, घाटीबगड, बयाली, दोपखे, पोला, गिरकिस्से, बुदी अपिखोला र कुन्तीसाउसम्म २० किलोमिटर बाटो निर्माण तथा मर्मत गरेको छ।

चदनुसार घोडेटो बाटोमा ६५० घनमिटर मेसनरी वाल, ५७७ घनमिटर ड्राइ वाल, ७२ घनमिटर स्टोन वाल, ५०० घनमिटर पलम कंक्रिट र २० घनमिटर ९८५ मिटर० आरसीसी ढलान गरिएको छ। दोपाखे, अपिखोला र कुन्तीसाउमा ६ मिटर लम्बाइ स्पानका तीनवटा आरसीसी पुल निर्माण गरिएको डडालले बताए। 

प्रतिक्रिया दिनुहोस्