Logo
Logo

बाँकेमा सशस्त्र एसपीकै नाकमुनिबाट तस्करी


9.3k
Shares

काठमाडौं । बाँकेको राप्ती पारी नरैनापुर गाउँपालिका वडा नं ५ र ६ को सिमानामा पर्ने भोज भगवानपुर क्षेत्र हुँदै भारतबाट नेपालतर्फ दैनिक लाखौं रुपैयाँ बराबरको अवैध सामानको तस्करी हुने गरेको छ । भारतको उत्तर प्रदेश अन्तर्गत पर्ने श्रावस्ती जिल्लाको जमुनहा बजारबाट सामान ल्याएर राप्ती नदी हुँदै भोज भगवानपुर सीमा क्षेत्रबाट तस्करी हुने गरेको हो ।

त्यहाँबाट ठूलो परिणाममा तस्करी हुँदा सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी बाँकेका प्रमुख एसपी शोभाकान्त खनालले नाका आफ्ना घुमुवाहरु पठाएर व्यवस्थापन गर्न त्यही एक सिनियर अधिकृतले जानकारी दिएका छन् ।

‘हामीले नियन्त्रण गर्न खोज्दा एसपीका एक जना असई आएर खुला गराउन दबाब दिन्छन’, ती अधिकृतले भने । सो क्षेत्रमा गंगापुर बीओपीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर भण्डारीको नेतृत्वमा रहेको छ । तर तस्करी यति व्यापक रहेको अवस्थामा पनि सशस्त्र प्रहरीले कुनै कारबाही नगरेको देखिँदा सुरक्षा संयन्त्र नै संलग्न भएको आशंका गरिएको छ । सीमावर्ती क्षेत्रमा तैनाथ सुरक्षाकर्मीहरू राति र दिउँसैको समयमा तस्करी हुनेबेला मौन देखिन्छन् ।

स्थानीयवासीहरूका अनुसार तस्करहरू राप्ती नदी प्रयोग गरी राति र दिउँसै पनि आवतजावत गरिरहेका छन्। भोज भगवानपुर र गंगापुर क्षेत्र हुँदै विभिन्न किसिमका सामान—चिनी, दाल, तेल, सिगरेट, मदिरा, लत्ताकपडा, मेकअप सामग्री लगायतका सामग्री नेपाल ल्याउने गरिएको छ ।

गंगापुरका एक स्थानीय बासिन्दाका अनुसार प्रहरीको जानकारीमा नै तस्करी भइरहे पनि उनीहरूले देखेझैँ नगर्ने गरेका छन् । अर्को स्थानिय गेन्दवा भर्ताका बासिन्दाले रातिको समयमा सशस्त्र प्रहरीको सेटिङमा ठूला परिमाणमा तस्करी भइरहेको छ । ‘कहिले कहिले त गणको गाडी नै आएको देखिन्छ, एकजना खनाल थरका एसपी छन रे उनको गाडी हो भन्थे’, ती स्थानीयले भने ।

सशस्त्र प्रहरी बल नेपाल गंगापुर विओपीको मताहतमा रहेको नरैनापुर हुलाकी राजमार्ग नजिकै पोस्टमा सशस्त्र प्रहरीको ड्युटीसमेत हुँदैन । त्यहाँ एसपी खनालकै निर्दैशनमा हटाइएको स्थानीयले बताएका छ्न । स्रोतका अनुसार सीमा क्षेत्रमा सुरक्षाको नाममा सशस्त्र प्रहरीको उपस्थिति भए पनि अवैध क्रियाकलाप नियन्त्रणमा ल्याउन कुनै प्रभावकारी कदम चालिएको छैन ।

भारत–नेपाल सीमा खुला भएको तथा राप्तीनदीमार्ग सजिलो भएको कारणले पनि तस्करी मौलाएको हो । दक्षिण एसियाका दुई शक्तिशाली देशहरू भारत र पाकिस्तानबिच द्वन्द्व चर्किदा भारतीय सुरक्षाकर्मीहरूले नेपालगन्ज सीमा नाकामा कडाइ बढाउँदै लगेका बेला पनि नेपालको तर्फबाट खनाल कमाण्डको टोली तस्करीमै लागेको स्रोतको दावी छ ।

उनको विषयमा सशस्त्र मुख्यालयमा उजुरी समेत परेको थियो । तर स्याङजाका कांग्रेस नेताहरु लगाएर गृहमन्त्रीको आडमा त्यही थमौति भएका उनी अहिले आइजीपीलाई समेत अटेर गरेर तस्करीलाई मलजल गरिरहेको स्रोतको दावी छ । लामो समय लेखामा बसेका खनाल अकुत सम्पत्ति आर्जन गर्ने मध्येमा परेका छन् । लेखा बस्दा पनि सरुवा बढुवामा चलखेल गर्ने भएकाले विभागभित्र उनको सम्बन्ध राम्रो छैन ।

नेपाल भारत जमुनाहा नाकामा दिउसो कडाइ गरेपनि राती सेटिङमा ट्रकहरु छिराउने गरेका छन् । यसअघि गत केही वर्षदेखि भारतीय सुरक्षा निकाय सीमा सशस्त्र बल (एसएसवी) ले रुपैडिहा नाकामा आवागमन गर्ने नेपाली र भारतीय सबै नागरिकहरूका लागि परिचयपत्र अनिवार्य गरेपनि नेपाल तर्फ भने खुला छाडिएको छ ।

प्रतिक्रिया दिनुहोस्