काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्जको एउटा मललाई क्यासिनोको लाइसेन्स दिलाउन मरिहत्ते गरेका छन् । वीरगञ्जको आदर्शनगरमा रहेको ‘स्काई लाइन मल’मा नयाँ क्यासिनो सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्साले नेतृत्व गरेका छन् ।

गत असार ३० गते सरकारले जारी गरेको क्यासिनो नियमावली बमोजिम अन्तराष्ट्रिय सिमाना बाट ५ किलोमिटर भित्र क्यासिनो सञ्चालनका लागि सुरक्षा योजना सहित जिल्लाको सुरक्षा समितिले सिफारिस गर्नु पर्ने भएपछि सुरक्षा समितिको बैठक राखेर स्काइ मललाई क्यासिनो खोल्नका लागि सिफारिस गरिकेका छन् ।
मलका सञ्चालक एवम् वीरगञ्जका व्यवसायी राजेश अग्रवाल खानेपानीमन्त्री प्रदीप यादवसंगका प्रिय पात्र हुन । पर्सामा अहिले गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणी दुवाडीका प्रिय पात्र गणेश अर्याल सिडियो रहेका छन् । साथै राष्ट्रपति रामचन्द्र पौडेलका आफन्त बताउने गौतम मिश्र एसपी रहेका छन् । उनीहरुले त्यहाँ क्यासिनो सञ्चालनका लागि सिफारिस गरेका हुन् ।
वीरगञ्जमा सञ्चालनमा आएको स्काई लाईन मल भारतीय सिमानाबाट मात्र ३ किलोमिटरको दूरिमा रहेको छ । तीन किलोमिटरको दूरिमा रहेको स्काई लाईन मलमा क्यासिनो सञ्चालनका लागि जिल्ला सुरक्षा समितिको सिफारिस आवश्यकता पर्छ ।
नियमावलीमा ५ किलोमिटर भित्र क्यासिनो सञ्चालनका लागि जिल्ला सुरक्षा समितिको सिफारिस आवश्यक पर्ने दफा थप गरिएपनि २०८० चैत ३० मा जारी भएको पर्यटन ऐनमा अन्तर्राष्ट्रिय सीमाना भन्दा ५ किलोमिटर भित्रको दूरिमा नयाँ क्यासिनो सञ्चालनको अनुमति नदिने व्यवस्था छ । जिल्ला सुरक्षा समितिको संयोजन प्रमुख जिल्ला अधिकारीले गर्ने भएकाले सिडियो र एसपी सिफारिसमा प्रत्यक्ष जोडिएका हुन् ।
क्यासिनो नियमावली जारी हुनु अगाडि नै जिल्ला सुरक्षा समितिको बैठकले स्काई लाईनमा नयाँ क्यासिनो सञ्चालनका लागि सिफारिस दिने प्रयास गरेको उजागर भएको छ । सम्वद्ध स्रोतका अनुसार गत असार २२ गते मुस्लिम समुदायको मोहर्रम (ताजिया) पर्वको सुरक्षा योजनाका लागि बसेको जिल्ला सुरक्षा समितिकै बैठकमा प्रमुख जिल्ला अधिकारीले स्काई लाईन मलमा नयाँ क्यासिनो सञ्चालनका लागि सिफारिस गरौँ भन्ने प्रस्ताव ल्याएका थिए ।
तर, बैठकमा सहभागी अन्य सुरक्षा निकायका प्रमुखले हाललाई यो निर्णय नगरौँ भन्दै टारेका थिए । तर सिडियो र एसपीले यसलाई नरोकौ भन्दै प्रकृया अघि बढाएको स्रोतको दावी छ । ‘क्यासिनो सञ्चालनका लागि ठूलै आर्थिक चलखेल भएको बुझिन्छ’, जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले दृष्टिसँग भने ।
सीमानाबाट ५ किलोमिटर दूरिभित्र क्यासिनो सञ्चालनका लागि सुरक्षा समितिको सिफारिस आवश्यक पर्ने दफा थपेर क्यासिनो नियमावली राजपत्रमा असार ३० मा प्रकासित भएपछि साउन १ मा पनि प्रमुख जिल्ला अधिकारीले सुरक्षा समितिको बैठक बोलाएका थिए । सीमा नाकासँग जोडिएका सुरक्षा प्रमुखहरुले पर्यटन ऐन विपरित ५ किलोमिटर भित्र क्यासिनो खोल्न सिफारिस गर्न नमानेपछि साउन १ गतेको बैठकमा समेत क्यासिनोको सिफारिस हुन सकेन ।
नयाँ पर्यटन ऐन नआउँदै हतारमा सिफारिस गर्दा विवादमा पर्ने भन्दै सुरक्षा समितिका रहेका नेपाली सेना र सशस्त्र प्रहरीका प्रमुखले क्यासिनो सञ्चालनका लागि सिफारिस गर्न नमानेको सम्वद्ध स्रोतको दाबी छ । सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमालको नै सरुवा भइसकेकाले साउन ४ गते आइतबार पर्सा सरुवा भई आएका एसपी पुरन चन्द भट्टलाई कार्यभार सुम्पिएर काठमाडौँ फर्किने साउन ३ मा शनिबार जिल्ला सुरक्षा समितिको बैठकले स्काई लाईनमा क्यासिनो सञ्चालनका लागि सिफारिस गरिदिएको छ ।
यसअघि २०८० चैत ३० मा नेपाल सरकारको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले जारी गरेको सम्पक्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको पर्यटन ऐनमा अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट ५ किलोमिटरको दूरीभित्र नयाँ क्यासिनो सञ्चालन गर्न नपाइने व्यवस्था गरेको थियो ।
वीरगञ्जको स्काई लाईन मलमा नयाँ क्यासिनो सञ्चालनका लागि पर्यटन विभागका अधिकारीलाई प्रभावमा पारि अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट ५ किलोमिटर भित्र क्यासिनो सञ्चालनका लागि सुरक्षा योजना सहित अन्तर्राष्ट्रिय सीमा सुरक्षाको मूल्यांकन गरी प्रचलित कानून बमोजिमको जिल्ला सुरक्षा समितिले क्यासिनो सञ्चालनको लागि सिफारिस आवश्यक पर्ने दफा थप गरिएको छ ।
अन्तर्राष्ट्रिय सीमाबाट ५ किलोमिटर भित्र जहाँ पनि क्यासिनो सञ्चालन गर्न दिँदा भविष्यमा अनेक सुरक्षा चुनौती थपिन सक्ने अवस्थालाई सिडियो र एसपीले ख्याल नगरेको भन्दै स्थानीयहरुले समेत गुनासो गरेका छन् । क्यासिनोको अनमुति दिए लगत्तै पर्साका एसपी गौतम मिश्र काठमाडौ आएका थिए ।











