Logo
Logo

मन्त्रीका स्वकीय सचिवका अगाडि सचिव निरीह


8k
Shares

काठमाडौं । सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल यति कमजोर देखिएका छन्, उनले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहका स्वकीयसचिव युपी लामिछानेबाट दिनदिनै हप्कीदप्की खाने गरेका छन् । तैपनि सहरी विकासमै बस्न उनले लामिछानेको हरसम्भव चाकडी गरिरहेका हुन्छन् ।

सचिव गोपालप्रसाद सिग्देल र युपी लामिछाने

मन्त्रालयमा लामिछानेको बैधानिक पद केही छैन । उनलाई प्रमुख स्वकीय सचिव भनिएको छ । त्यो पनि अवैतानिक । तर उनको भूमिका यस्तो छ कि, उनले छायाँ मन्त्री भएर काम गरिरहेका छन् । कर्मचारीहरुको सरुवा तथा खटनपटन उनकै मुडमा चल्ने गरेको छ । सरकारी गाडी, सवारी चालक, तथा इन्धन आफूखुसी प्रयोग गरिरहेका छन् ।

स्रोतका अनुसार लामिछानेले मन्त्रालयका कर्मचारीहरुकै अगाडि सिग्देललाई दिनदिनै निर्देशन दिने र हप्काउने गर्छन् । लामिछानको हप्कीदप्कीलाई उनले प्रतिवाद गर्न सक्दैनन् । लामिछानेले प्रहरीमा अधिकृतले जवानलाई हप्काएको जस्तै सिग्देललाई हप्काउने गरेका छन् ।

सचिव सिग्देल लामिछानेले हप्कीदप्की हाँसेर टार्ने गर्छन, कहिले चुप लाग्ने गर्छन । मन्त्रालयका एक उपसचिव भन्छन्–‘यस्तो कमजोर र निरीह सचिव हामीले अहिलेसम्म देखेका थिएनौं । मन्त्रालयमा बस्न यतिसम्म निरीह भएर बस्नु भनेको निजामती कर्मचारीहरुको बेइज्जत हो ।’

युपीबाट हप्की खाएपछि सिग्देलले त्यसको बदला आफू भन्दा मुनि कातल्लो तहका कर्मचारी हप्काएर लिने गरेका छन् । तल्लो तहका कर्मचारीहरुलाई भने उनले सामान्ती पारा देखाउने गरेको एक कर्मचारीले बताए । उनले भने–‘सचिवज्यूको यस्तो पाराले मन्त्रालय उँभो लाग्दैन । मन्त्रालयले कही काम गर्न सक्दैन ।’ मन्त्रालयका स्रोतका अनसार युपीले सरुवा, खटनपटन र काजमा जस जसको नाम कागजमा लेखेर दिन्छन्, उनकै नाम सदर गरिदिन्छन् । एक शब्द सोध्ने पनि आँट गर्दैनन् ।

रमेशप्रसाद सिंह सहरी सचिव हुँदा उनले मन्त्रीका स्वकीय सचिलाई यसरी हावी हुन दिएका थिएनन् । तत्कालीन सहरी सचिव मेटमणि चौधरीका स्वकीय सचिव भूमाण्डप केसीले एक दिन पछाडिबाट ‘ए सचिव’ भनेर बोलाएपछि सिंह निकै आक्रोशित भएका थिए । तुरुन्तै मेटमणिलाई भेटेर–‘तपाईले मलाई हटाउनुहोस् नभए भूमाण्डपलाई हटाउनुहोस् । भूमाण्डपलाई हटाउनुभएन भने म बस्दिनँ’ भनेका थिए । त्यसछि मेटमणिले तत्कालै भूमाण्डपलाई बोलाएर स्वकीय सचिव पदबाट हटाए । त्यतिबेला मन्त्रीले भूमाण्डपलाई ‘अबदेखि मन्त्रालयमा नआउनू’ भनेर आदेश नै दिएका थिए । त्यसपछि भूमाण्डप र मेटमणिबीच सम्बन्ध बिग्रिएको थियो ।

यसअघि पनि केही मन्त्रीहरूले मन्त्री भएकै बेला आफूलाई बदनाम खोजेको भन्दै स्वकीय सचिवलाई पदबाट हटाएका छन् । यस्ता थुप्रै उदाहरण छन् । तर सहरीमा यतिबेला मन्त्रीका स्वकीय सचिवलाई मलजल गर्ने र उक्साउने काम स्वयम् मन्त्रालयका सचिवले गरिरहेका छन्, जुन लाजमर्दो विषय हो ।

स्वकीय सचिव भएपनि उनी मन्त्रीको निवासमा भन्दा मन्त्रालयमा दिनभरी बस्ने गरेका छन् । एक कर्मचारी भन्छन्– स्वकीय सचिव मन्त्रीको निवासमा बस्नुपर्ने हो तर त्यस्तो छैन । निवासमा कम बस्छन्, मन्त्रालयमा बढी देखिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्