काठमाडौं । पोखराको बाटुलेचौरीको लिचीबारीको १३५ रोपनी जग्गा हत्याउन घुस डिल गरेको अडियो प्रकरणमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिंदा पनि मूख्य भूमिका भएका भूमिब्यवस्था मन्त्री बलराम अधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संरक्षण गरिरहेका छन् ।

पोखराको लिचीबारीजस्तै भूमाफियाले कामठाडौंको अरबौं मूल्यको हदबन्दीको जग्गा दर्ता गर्ने अन्तिम तयारी गरेको तथ्य दृष्टिले फेलापारेको छ । स्रोतका अनुसार मालपोत कार्यालय डिल्लीबजारका प्रमुख लोकबहादुर भण्डारी र भूमाफियाबीच हदबन्दीको उक्त जग्गा ब्यक्तिका नाममा दर्ता गर्न करोडौं डिल भइसकेको स्रोतले बताएको छ ।
साम्राज्यशमशेर राणाको नाममा काठमाडौं उपत्यकामा ४–५ सय रोपनी जग्गा रहेकोमा २०६२ मा हदबन्दी फस्र्योट भएको थियो । साम्राज्यशमशेरको जग्गाको हदबन्दी फस्र्योट भई ३ परिवारका नाममा ५५ रोपनीका दरले १ सय ६५ रोपनी जमिन राख्न पाउने गरी टुंगिएको थियो । १ सय ६५ रोपनीबाहेक साम्राज्यशमशेरका सबै जग्गा हदबन्दीमा परेपछि स्वतः सरकारका नाममा हुन्छन् ।
सर्वोच्च अदालतले नै हदबन्दीभन्दा बढी जग्गा नेपाल सरकारको नाममा हुने आदेश दिइसकेको छ । सर्वोच्च अदालतको आदेशकै बिरुद्ध साम्राज्यशमशेरको नाममा रहेका काठमाडौंको चोभारको हदबन्दी लागेको करिब ३० रोपनी जग्गा ब्यक्तिको नाममा दर्ता गर्न भूमाफियाहरु लागेका छन् ।
उनीहरुले मालपोत कार्यालय डिल्लीबजारका प्रमुख भण्डारीसँग सेटिङ गरी उक्त जग्गा दर्ताको सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको स्रोतले बताएको छ । हदबन्दीमा परेको र स्वतः सरकारी हुनुपर्ने यो जग्गा दर्ता गर्ने प्रयास भूमाफियाले यसअघिका मालपोत कार्यालय डिल्लीबजारका प्रमुख रामकृष्ण उप्रेतीलाई समेत साम्राज्यशमशेरको हदबन्दीमा परेको जग्गा दर्ता गर्न टोकन बैना गरेका थिए । तर उनी अवकाश हुँदासम्म पनि दर्ता गर्न नसकी बिदा भएका थिए ।
उप्रेती अवकाश भएपछि भूमाफियाकै योजनामा साम्राज्यशमशेरको उक्त जग्गा दर्ता गर्न भूमिब्यवस्था मन्त्री बलराम अधिकारीले लोकबहादुर भण्डारीलाई सरुवा गरेका थिए ।
काठमाडौं जिल्लाको भूमि सुधार कार्यालयका प्रमुखसमेत रहेका मालपोत कार्यालय डिल्लीबजारका प्रमुख भण्डारीले साम्राज्यशमशेरको हदबन्दीको जग्गा दर्ता गर्नकै लागि आफ्नै भतिजा नायबसुब्बा मोहन भण्डारीलाई डिल्लीबजारमा सरुवा गरी मोहीफाँटमा राखिसकेका छन् । भूमिब्यवस्था मन्त्री बलराम अधिकारीसम्म सेटिङ मिलाएर साम्राज्यशमशेरको जग्गा दर्ता गर्न भूमाफियाले सबै सेटिङ मिलाइसकेका छन् ।
लोकबहादुर भण्डारीको जागिरे जीवन काठमाडौं उपत्यकाका सबै मालपोत कार्यालयमा चाहार्दै बितेको छ । बिभिन्न विवादित जग्गा दर्ता गरी अकूत सम्पत्ति कमाउनेमा पर्ने भण्डारी यसअघि भक्तपुर मालपोत कार्यालयका प्रमुख थिए । त्यतिबेला उनलाई हरेक काममा साथ दिने अर्का नायबसुब्बा यदु आचार्यलाई पनि उनले डिल्लीबजार मालपोतमा ल्याएका छन् । यदु आचार्य भक्तपुरमा हुँदा सरकारी र खोलाको जग्गा दर्तामा समेत मुछिएका नासु हुन् ।











