Logo
Logo

प्रहरीका ठेक्कामा कीर्ते नागरिकताबाहकको सेटिङ

श्रवण अग्रवालको नागरिकता नै नक्कली


10k
Shares

काठमाडौं । नेपाल प्रहरीले आर्थिक वर्ष २०८२–०८३ को लागि बोलपत्र गरेको ऊलन सर्ट, चुस्ता, बुट लगायतका करिब १ अर्ब २२ करोडको सामान खरिदको ठेक्का सेटिङमा दिन लागेको भन्दै बिभिन्न निकायमा उजुरी परेको छ ।

प्रहरी महानिरीक्षक दीपक थापाको १ महिना पनि कार्यकाल बाँकी नभएको अवस्थामा बन्दोबस्तीका सामानको टेण्डर गरी प्राविधिक मूल्यांकन भदौ पहिलो साता नै गर्ने तयारीमा हेडक्वाटरको आर्थिक तथा प्रबन्ध निर्देशनालय लागेको छ ।

प्रहरीले सामान खरिद गर्दा नक्कली नागरिकता नम्बर प्रयोग गर्दैआएका श्रवणकुमार अग्रवालको समूहसँग सेटिङ गरी बोलपत्रमा सामानका स्पेक नै उनीहरुसँग मात्र खरिद गर्नेगरी बनाएको आरोप छ । कोयर म्याट्रेसको नमूना, ऊलन सर्टको नमूना नै निश्चित कम्पनीको मात्र खरिद गर्नेगरी ठेकेदारसँग सेटिङ गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायमा उजुरी परेको छ ।

प्रहरीको लत्ताकपडा ठेक्कामा एकछत्र राज गरिरहेका अग्रवालको समूहका ज्ञानेन्द्र बस्नेत, टोपेन्द्र बीसी र बीरेन्द्र जोशीको समूहलाई ठेक्का दिनेगरी प्रबन्ध निर्देशनालयबाट सेटिङ भएको उजुरीमा उल्लेख छ ।
नयाँ आर्थिक वर्ष सुरु हुनासाथ अग्रवालसहितका ठेकेदारसँग सेटिङ गरी प्रहरीको प्रवन्ध निर्देशनालयले मिलेमतो गरी टेण्डर निकालेको र ठूलै चलखेल भएकाले टेण्डर रद्द गरी प्रतिस्पर्धासहित नयाँ ठेक्का आह्वान माग साउन ११ मा अख्तियारमा उजुरी परेको छ ।

नेपाल प्रहरीको प्रबन्ध निर्देशनालयले साउन ५ गते बोलपत्र सूचना निकाली म्याट्रेस, चुस्ता, लत्ताकपडा, ऊलन सर्ट, बेल्ट, बुटलगायतको सामान माग गरेको छ ।

बोलपत्रमा ४० हजार जोर डीएमएस बुट, ४५ हजार सेट कम्लिट चुस्ता ड्रेस, १६ हजार थान पार्का ज्याकेट, पाँच हजार पाँच थान क्यायर म्याट्रेस, ५० हजार मिटर वुमन सर्ट क्लोथ, ३० हजार जोर स्पोर्ट सुज, ३५ हजार थान मिन्क ब्ल्यांकेट, एक लाख पाँच हजार मिटर कटर्न सर्ट क्लोथ, ८६ हजार मिटर कटन पाइन्ट क्लोथ, ३५ हजार मिटर उलन पाइन्ट क्लोथ माग मागिएको छ ।

त्यस्तै ११ हजार जोर टोप बुट,१२ हजार पाँच सय थान उलन स्वेटर, १५ हजार सेट अण्डर ट्राउजर भेस्ट सेट, १५ हजार सेट ट्य्राकसुट, ११ हजार थान पिन्चो, छ हजार पाँचसय थान रुकस्याग ब्याग, आठ हजार थान स्लिपिङ ब्याग, १५ हजार थान फ्लोरोसेन्ट सस्पेन्सन बेल्ट र एक हजार दुई सय थान स्नो ज्याकेट माग गरिएको छ ।

त्यसैगरी १५ हजार थान ब्रेट क्याप, एक हजार दुई सय जोर स्नो बुट, एक हजार पाँच सय थान सिनियर पुलिस ज्याकेट, एक हजार पाँच सय थान बुकेल बेल्ट, १३ हजार पाँच सय थान पीटी भेस्ट र ४३ हजार थान इम्बोइड सिम्बोल फर भेरियस ¥यांक माग गरिएको छ ।

प्रहरीको प्रबन्ध निर्देशनालयले टेण्डरमा स्पेक, क्वालिफिकेसन र क्राइटेरिया बनाउँदा नै अघिल्ला वर्षमा काम गरिरहेका ठेकेदारलाई मात्रै मिल्नेगरी बनाइएको उजुरीमा उल्लेख छ । प्रतिस्पर्धालाई सीमित गरी सेटिङमा ठेक्का दिन लागिएकाले रोक्न माग गरिएको छ । ठेकेदारहरु ज्ञानेन्द्र बस्नेत, टोपेन्द्र बीसी, श्रवण अग्रवाल, राजमान मिश्र, मित्र लामा र राजु थापा संलग्न कम्पनीलाई मात्रै मिल्नेगरी स्पेक बनाएर सेटिङमा टेण्डर दिलाएर महंगो मूल्यमा कमसल सामान खरिद गर्न लागिएको उजुरीमा दाबी गरिएको छ ।

यी ठेकेदारहरुको सिन्डीकेटले नेपाल प्रहरीका हरेक ठेक्कामा कोही पनि नयाँ ठेकेदारलाई प्रतिस्पर्धा नै नगराई सेटिङमा ठेक्का हत्याएर महंगो मूल्यमा कमसल सामान सप्लाई गर्नु रहेको उजुरीमा उल्लेख छ ।

प्रहरीमा वर्षौंदेखि सेटिङमा ठेक्का लिंदैआएका श्रवण अग्रवालको समूहले नै यो वर्षको टेण्डर सूचना प्रकाशित भएदेखि नै चलखेल गरेको आरोप छ ।

श्रवण अग्रवालको नागरिकता नै नक्कली

नेपाल प्रहरीदेखि सशस्त्र प्रहरीका कपडा लगायतका बन्दोबस्तीका सामानको ठेक्कामा नागरिकता नै कीर्ते गरी कम्पनी दर्ता गरेका श्रवण अग्रवालको हालीमुहाली छ । अग्रवाल कम्पनी क्यामो फ्ल्याग नेपाल प्रालिले प्रहरीमा पेश गरेको टेन्डर कागजातमा नागरिकता नम्बर नै अरू कसैको उल्लेख गरेको तथ्य सार्वजनिक भइसकेको छ ।

कर कार्यालयमा पेस गरिएको कागजातमा अग्रवालले पहिले भारतीय आइडी कार्ड नम्बर उल्लेख गरेको तर उक्त आइडी कार्ड प्रयोग गर्न नमिल्ने भएपछि उनले आफ्नो नाम लेखेर हस्ताक्षर गरेका थिए । तर नागरिकता नम्बर भने अर्कै व्यक्तिको प्रयोग गरेको आरोप उनीमाथि लाग्ने गरेको छ । अग्रवालले पर्साबाट नागरिकता लिएको दाबी गर्दैैआएका छन् ।

तर जिल्ला प्रशासन कार्यालय पर्साले उनको नागरिकताको अभिलेख नै फेलानपरेको जवाफ दिएको बिषय पनि आइसकेको छ । उनले कम्पनी दर्ता गर्दासमेत कम्पनी रजिष्टारमा नागरिकता नै पेश नगरी गरेको आशंका पनि गरिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका ठेक्कामा दिनहुँजसो ती संगठनका मुख्यालयमा जाने र ठेक्का सम्झौतामा क्यामो फ्ल्याग नेपाल प्रालिको तर्फबाट उनी आफैंैले हस्ताक्षर गर्दैआएकाले कम्पनी उनकै नाममा भएको सहजै अनुमान गर्न सकिने प्रहरी स्रोत बताउँछ । कर कार्यालयमा आर्थिक वर्ष २०७८–०७९ मा बुझाएको बिबरणमा उनले नागरिकता पेश नगरी नागकिरता नम्बर ३७३०२२ एफ १३–१९ लेखेका छन् । तर पर्सा प्रशासनले भने उनको नागरिकताको अभिलेख नभेटिएको बताइसकेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा अभिलेख नभेटिएपछि अग्रवालले नक्कली नागरिकता बनाएको वा अन्य ब्यक्तिको नागरिकता प्रयोग गरी कम्पनी दर्तादेखि अरु काम गर्दैआएको आशंका गरिएको छ । तिनै नागरिकता कीर्ते गर्ने अग्रवालले प्रहरी र सशस्त्रमा सेटिङ गरी बीसांंै करोडका ठेक्का हत्याउँदैआएका छन् । यो वर्ष अग्रवालको समूहले १ अर्ब २२ करोडको बोलपत्रमा करिब १ अर्बको सामान आपूर्तिको ठेक्का हत्याउनेगरी सेटिङ गरेको उजुरी अख्तियारमा परेको छ ।

प्रस्तुत समाचारमा खण्डन प्राप्त भएकाले प्रकाशन गरिएको छ । –सम्पादक

मिती २०८२/०४/२१ गते
श्री दृष्टि मिडिया प्रा. ली
नक्साल, काठमाडौ नेपाल
सुचना तथा प्रशारण विभाग दर्ता न. २४०१/०७७-७८
आदरणीय सम्पादक ज्यू,

विषय: ध्यानआकर्षण गराइनेबारे
उपरोत्त सम्बन्धमा प्रकाशन मिती २०८२ साउन १९ गते, म श्रवण कुमार अग्रवालको बारेमा प्रकाशित समाचार बारेमा मेरो गम्भीर ध्यनाकर्षन भएको व्योहरा श्रीमान समक्ष जानकारी गराउन चाहन्छु । शो प्रकाशित समाचारमा मैले नेपाल प्रहरी लगायतका सार्वजनिक निकायहरुमा नियम पूर्वक ठेक्का पट्टा गरिरहेको जानकारी पनि श्रीमानमा जानकारी गराउन चाहन्छु । साथै मेरो नागरिकताको गलत दर्ता न. प्रकाशित गरिएकोले मेरो नागरिकता बारे लेखेका कुरा तथ्यहिन र कपोकल्पीत हुन । मैले नेपाली नागरिकता नेपालको प्रचलीत ऐन बमोजीम प्राप्त गरेको व्योहोरा पनि श्रीमान समक्ष जानकारी गराउन चाहन्छु ।
श्रीमानको जो आदेश ।

श्रवण कुमार अग्रवाल

प्रतिक्रिया दिनुहोस्