Logo
Logo

प्रहरी र सशस्त्रका दर्जनौँ फाइल सचिवको घर्रामा थन्कियो


20.7k
Shares

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा थप गरिने दरबन्दीको फाइल गृहसचिवको घर्रामा थन्किएको स्रोतले बताएको छ । सुरक्षा निकायलाई सबल बनाउने सरकारी नीति भए पनि जनशक्ति अभाव रहेका दुुवै संगठनलाई बलियो बनाउन गृहसचिव गोकर्णमणी दुवाडी बाधक बन्दा समस्या उत्पन्न भएको छ ।

गृहमन्त्री रमेश लेखकले दुवै प्रहरी संगठनलाई आवश्यक पर्ने सामान खरिद गर्न र मर्मत गर्नका लागि आवश्यक रकम विनियोजन हुने बताइरहेका बेला गृहसचिव दुवाडीले भने कुनै प्रकारका फाइल अघि बढाउन चाहिरहेका छैनन् ।

पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि सशस्त्र प्रहरीले दरबन्दी माग गरेको र प्रधानमन्त्रीले १७ सय दरबन्दी दिने आश्वासन दिएका छन् । त्यो फाइल पनि रोकिएको छ । साथै, नेपाल प्रहरी गाडी मर्मत लगायतका विविध विषयमा फाइल गृहसचिवको घर्रामा थन्केर बसेका छन् ।

प्रधानमन्त्री ओलीको आश्वासनपछि सशस्त्र प्रहरीले १७ सय दरबन्दी माग गरेर गृहलाई पत्राचार गरेको थियो । उता प्रहरीको पनि उस्तै गुनासो छ, अप्रेशनका लागि आवश्यक पर्ने गाडी मर्मत र खरिदका लागि थप बजेट आवश्यक भएकाले बजेट माग गरेर पठाइएको प्रस्ताव गृहसचिवको टेबुलभित्रबाट बाहिर आउन सकेको छैन ।

‘सिआइबी मातहत रहेका ब्यूरोले अपराधिक गतिविधि रोकथामका लागि विभिन्न अप्रेशनमा पठाउने गाडीको मर्मत तथा नयाँ गाडी खरिदका लागि पठाइएको फाइल अघि बढेको छैन, गृहमन्त्री परिणाम माग्नुहुन्छ, सचिवले भए भरका फाइल रोकेर राख्नुहुन्छ’, प्रहरी प्रधान कार्यालयका एक उच्च प्रहरीले भने ।

पाँच पटकसम्म बढुवा नभएका गृहसचिव दुवाडी त्यहाँ आएपछि निकै बद्नाम भएका छन् । भूमि मन्त्रालय हुँदै गृह छिरेका सचिवहरूलाई गृह मन्त्रालय फापेको छैन । पछिल्लो कालखण्डमा लोकदर्शन रेग्मीदेखि गोकर्णमणि दुवाडीसम्मलाई हेर्दा भूमिबाट छिरेका सचिवलाई गृह मन्त्रालय खासै फापेको देखिदैन ।

भूमि व्यवस्थापन सहकारी तथा गरिबी निवारण मन्त्रालय (तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्रालय)का सचिव लोकदर्शन रेग्मी अर्थ मन्त्रालय हुँदै गृहसचिव बनेर गएका थिए । कांग्रेसका विमलेन्द्र निधि गृहमन्त्री हुँदा गृहमा आएका हुन् । रेग्मीले गृह प्रशासनलाई जथाभावी चलाउन खोज्दा गृह मन्त्रालय विवादको भुमरीमा फसेको थियो ।

रेग्मीपछि भूमिबाट गृहसचिव बनेका टेकनारायण पाण्डे अहिले जेलमा छन् कांग्रेसकै बालकृष्ण खाँण गृहमन्त्री हुँदा गृह मन्त्रालय प्रवेश गरेका पाण्डे गृह प्रशासन चलाउन नजान्दा अहिले जेलमा पुगेका हुन् । नक्कली भुटानी शरणार्थी काण्डमा तत्कालीन गृहसचिव पाण्डे प्रहरी हिरासत हुँदै अहिले पुर्पक्षका लागि थुनामा पुगेका हुन् ।

पछिल्लो समय भूमिबाट राष्ट्रिय तथ्यांक कार्यालयलाई ‘ट्रान्जिट’ बनाएर आएका गृहसचिव गोकर्णमणि दुवाडीलाई पनि गृह मन्त्रालय असहज बन्दै गएको छ । गृहसचिव दुवाडी सिडिओ खटनमा समेत विवादित र असफल देखिएका छन् । उपसचिवको दरबन्दीमा सहसचिव पठाउनेदेखि कार्यविधिविपरीत ‘क’ वर्गको जिल्लाबाट ‘क’ वर्ग कै जिल्लामा सिडिओ पठाउने भूमिकामा भूमिबाट आएका गृहसचिव दुवाडी अग्रस्थानमा देखिएका छन् ।

गृहमन्त्री रमेश लेखक र सचिव दुवाडीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको कमाण्डर बनाएर पठाएका सहसचिव तिर्थराज भट्टराईलाई भिजिट भिसा काण्डले अख्तियार लागेको छ । अख्तियार स्रोतका अनुसार उक्त काण्डमा गृहसचिव दुवाडी पनि निगरानीमा छन् । पछिल्लो पटक दुई नक्कली लाइसेन्स प्रकरणमा मुछिएका टोकराज पाण्डेलाई रुपन्देहीको सिडियो बनाएर पठाएपछि उनी थप विवादमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्