Logo
Logo

चौधरीले टेरेनन् जिल्ला प्रशासनको निर्देशन, विभाजनको मुखमा नाडा


2.8k
Shares

काठमाडौं । करण चौधरीको अराजकताले नाडाको पदाधिकारीबीचको विवाद टुंगिने अवस्थामा नपुग्ने देखिएको छ । विवाद समाधानका लागि एक पक्ष नाडा नै छोडेर निस्कनुपर्ने अवस्थामा पुगिसक्दा पनि चौधरीले समस्या समाधान गर्ने प्रयाससम्म गरेका छैनन् ।

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल (नाडा) अहिले साधारण सभाको नजिक पुगिसकेको छ । तर अघिल्लो साधारण सभा देखि नै सुरु विवाद नसल्टिँदा नाडा धरासायी बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशनलाई समेत चौधरीले अटेर गरेर बसेका छन् ।

विवादको कारण नाडाको आसन्न महाधिवेशनको समेत टुंगो लाग्न सकेको छैन । विधानतः नाडाको साधारणसभा साउनदेखि पुस महिनाभित्रमा गरिसक्नुपर्छ । नाडाका दुवै पक्षसँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंले छलफल समेत गरेको छ । छलफल पछि विवाद सकभर आफैं टुंगाउन प्रशासन कार्यालयले सुझाव दिएको थियो । तर छलफल भएको दुई सातासम्म पनि दुवै पक्षले संवादसम्म पनि गरेका छैनन् ।

नाडाका एक पदाधिकारी भन्छन्, ‘प्रशासन कार्यालयले छलफल गरेर टुंगाउनु भनेपनि थप छलफल भएको छैन ।’ छलफलका लागि दुवै पक्ष तयार नभएको ती पदाधिकारी बताउँछन् । ‘बैठकका लागि सामान्य पहल समेत हुन सकेको छैन,’ उनले भने ।

विवाद बढ्दै गएपछि पदाधिकारीबीच विवाद स्पष्टिकरण सोध्ने र बुझाउनेसम्म पुगेको थियो । केही समयअघि वरिष्ठ उपाध्यक्ष (सदस्यमा घटुवा गरिएका) आकाश गोल्छा पक्षले अध्यक्ष करण चौधरीले एकलौटी रुपमा संस्था चलाउन खोजेको र साधारणसभाबाट चुनिएका वरिष्ठ उपाध्यक्ष र सदस्यहरुलाई विधान विपरित सदस्यमा झारिदिएको विषयमा आपत्ति जनाएका थिए । उनीहरुले अध्यक्षले मनोमानी गर्न नछोडे अविश्वासको प्रस्ताव ल्याउने, विशेष साधारणसभा माग गर्ने र अध्यक्षले बहुमत सदस्यको माग बमोजिम काम नगरे कालोमासो दल्ने सम्मको चेतावनी दिएका थिए ।

त्यसपछि अध्यक्ष चौधरीले आकाश गोल्छा, सुनिल रिजाल, प्रदीपमान प्रधान र सन्जय खेतानलाई स्पष्टिकरण सोधेका थिए । महासचिव सुरेन्द्र कुमार उप्रेतीमार्फत असार ३ गते सोधिएको स्पष्टिकरणमा चारै जनालाई लिखित स्पष्टिकरण पेश गर्न भनिएको थियो । उनीहरुलाई सात दिनभित्र लिखित प्रष्टिकरण पेश गर्न भनिएको थियो ।

त्यसपछि चारै जनाले असार ९ गते स्पष्टिकरण बुझाए्का थिए । गोल्छा, रिजाल, प्रधान र खेतानले स्पष्टिकरण बुझाउँदै उल्टै प्रश्न गरे । जवाफमा उनीहरुले नाडाको विधान नै अध्ययन नगरी आफूहरुलाई स्पष्टिकरण सोधिएको भन्दै उल्टै विधानको उलङ्घन गरेको कसुरमा कारबाही गर्नुपर्ने माग गरेका थिए ।

नाडाको यो विवादको नाडाको गत साधारण सभादेखिको हो । नाडामा साधारणसभामा आपसी समझदारीमा नेतृत्व चयन गरिएको थियो । सोही समयदेखि बल्झिएको विवादले टुक्रने अववस्थामा पुर्याएको नाडाका पदाधिकारीहरू बताउँछन् । अध्यक्ष चौधरीले राजनबाबु श्रेष्ठको उक्साहटमा आकाश गोल्छा सहितकालागि नाडाबाट निकाल्ने प्रपन्च रचेको जानकार बताउँछन् ।

पछिल्लो समय आकाश गोल्छा पक्ष नाडाका अध्यक्ष करण चौधरीले आफूलाई वरिष्ठ उपाध्यक्षबाट सदस्यमा घटुवा गरेको र नाडाका कामकारबाहीमा समेत व्यक्तिगत तरिकाले गर्ने गरेको भन्दै असन्तुष्ट छन् ।

नाडाको ४७ औं साधारण सभाबाट वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेर गोल्छालाई भाबी अध्यक्ष बनाउने प्रतिबद्धता गरिएको थियो । तर, उक्त प्रतिबद्धता अनुसार विधान संशोधन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्वीकार गरेपछि गोल्छा सदस्यमा घटुवा भएपछि नाडामा विवाद चर्किएको थियो । नाडा अध्यक्ष चौधरीले कुनै सल्लाह नगरी हठातमा गोल्छालाई सदस्यमा घटुवा गरेका थिए । त्यसपछि यो विवादले लामो रुप लिएको हो ।

अध्यक्ष चौधरीले नाडाको अलिअलि बचेखुचेको साख पनि झन् खस्काउँदै गएको आरोप लागिरहेको छ । एकातर्फ फुटिसकेको नाडा भने अर्कोतर्फ फेरि विवादै विवादमा फस्दै गएको छ ।

नाडाले आगामी भदौ ३ देखि ८ गतेसम्म १७औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्ने घोषणा यसअघि नै गरिसकेको छ । अटोमोबाइल व्यवसायीहरूको महामेलाका रुपमा लिइने त्यो अटो शोको तयारी गर्नुको साटो नाडाका पदाधिकारीहरू अहिले विवादमा अल्झिएका छन् ।

प्रतिक्रिया दिनुहोस्