काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा अर्को सडक क्रान्ति आवश्यक रहेको बताउँदै आफूले त्यसको नेतृत्व गर्ने बताएका छन् । अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा उनले अर्को ठूलो क्रान्ति नभएसम्म मुलुकको गुणात्मक विकास नहुने बताए ।

उनले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेसिता स्थापना भए पनि म नयाँ आन्दोलनको नेतृत्व गर्छु भनेर जनतामाझ गएको छु । नयाँ आन्दोलन क्रान्ति आवश्यक छ । अर्को क्रान्ति चाहिएकै छ नेपालमा । मैले सशस्त्र क्रान्ति भनेको होइन । एउटा सडकबाट ठूलो क्रान्ति नभएसम्म यिनको दिमागमा छिर्ने देखिएको छैन ।’
देशको कर्मचारीतन्त्र, न्यायालय रूपान्तरण आवश्यक भएको बताए । ‘देशलाई गुणात्मक ढङ्गले अघि बढाउन बिउरोक्रेशी मा, जुडिसियरीमा र पुराना पार्टीको दिमागामा क्रान्ति ल्याउन सकेका छैनौँ,’ उनले भने, ‘हामीले परम्पराका सांगला तोड्न बाँकी छ ।’
प्रचण्डले कांग्रेस र एमालेका कारण विद्यालय शिक्षा विधेयक पारित हुन ढिलाइ भएको आरोप लगाए । उनले एमाले नेतृत्व र प्रधानमन्त्री केपी शर्मा ओली विधेयकको विरुद्धमा गएकाले सदनमा पेस हुन ढिलाइ भएको बताएका हुन् ।
उनले भने, ‘विद्यालय शिक्षा विधेयक मेरो प्रधानमन्त्रित्वकालमै दर्ता भएपछि शिक्षकहरूसँग भएका सम्झौताहरूलाई समेटेर विधेयक बनाउने कुरामा वर्तमान सरकारको नेतृत्वकर्ता एमाले र केपी ओली जी नै त्यसको विरुद्ध गएकाले ढिलो भएको हो, त्यसमा कोही भ्रममा नपरौं ।’ आफूहरूले शिक्षक र विद्यार्थीको पक्षमा बोलिरहँदा प्रधानमन्त्री ओली शिक्षकहरूलाई किन सुविधा दिने भनेर गालीगलौज गरेको उनले बताए ।














