वर्तमान सरकारका गतिविधिहरूलाई कसरी हेर्नुभएको छ ?
नयाँ भन्नेहरूले आम नागरिकमा भ्रम छर्दै राजनीतिमा केही भाष्यहरू स्थापित गरिएको छ । जुन भाष्यको जगमा रास्वपा उभिएको छ । विगतमा राजनीतिक दलहरूले केही पनि गरेनन्, त्यसैले आफूहरू राजनीतिमा आउनुपरेको भन्ने भाष्य स्थापित गरिएको छ । ३५ वर्षदेखि राजनीतिमा लागेका नेताहरूबाट ठिक ढंगले देश चल्न सकेन, ‘डेलिभरी’ दिन सकेन र नयाँ आउनुप¥यो भन्ने भाष्य जर्बजस्त स्थापित भएको हुनाले सरकारको काम, कारबाहीलाई यही कोणबाट मूल्याङ्कन गर्नु उपयुक्त हुन्छ ।

सरकार बनेको ६ महिनामा देशले निकै डरलाग्दो परिस्थितिहरू भोग्यो । बाढी, पहिरोको विपद् आयो । के ती बाढी, पहिरोमा उद्धार र राहतका काम ठिक ढंगले भए ? भन्ने प्रश्न छ । युवा सक्रियताको जुन रूपमा कुरा गरिन्थ्यो त्यो सक्रियता विपद् व्यवस्थापनका सन्दर्भमा हुन सक्यो कि सकेन ? गृहमन्त्री यता र उता कुदेको मात्र देखिन्थ्यो । तर हाइड्रोपावरमा फसेका श्रमिकहरूको उद्धारमा अपेक्षित उपलब्धि हुन किन सकेन ? प्रविधि र सीपको प्रयोग गर्न सकिन्थ्यो । अन्तर्राष्ट्रिय विज्ञहरूसँग सहयोगका लागि आह्वान गर्न सकिन्थ्यो तर किन गरिएन ?
महँगी दिनप्रतिदिन बढेर गएको छ । ग्यासको हाहाकार छ । पासपोर्ट, लाइसेन्स अब लाइनमा होइन अनलाइनमा भनिएको थियो, तर त्यस्तो किन हुन सकेन ? वैदेशिक रोजगारीमा जाने विमानस्थलको लाइन किन घटेन ? रोजगारी सिर्जना किन हुन सकेन ? करका दायरा बढाउने तर नयाँ उद्यम सिर्जना गर्न एक पाइलो नचालेको बजेट किन ल्याइयो ? सरकारका कामका यी तथ्यहरूका आधारमा हुनुपर्छ । उहाँहरूको नियत राम्रो होला । हिजोकाले गरेनन् आज हामी गर्छौ भन्ने होला । तर परिणाममा देखिएन ।
हिजो अध्यादेशबाट शासन गर्दा विरोध गर्ने अहिलेका सत्तारुढ रास्वपाका शीर्ष नेताहरू हुन् । तर अध्यादेश शासन अहिले पनि छ । विगतका प्रधानमन्त्रीले गर्ने टीकाटिप्पणी आलोच्य हुन्थे । तर अहिले पनि स्थिति त्यस्तै छ । प्रधानमन्त्रीले देशको जेठो दल नेपाली कांग्रेसको महाधिवेशनका सन्दर्भमा ‘नयाँ पार्टी’ भनेर लज्जास्पद टिप्पणी गरेका छन् । रोग, भोक, आवास र दैनिक जीवनसँग जोडिएको समस्याको निराकरणमा सरकारले आजको भोलि समाधान दिन नसक्ला तर दिशा त्यतातर्फ छ कि छैन भनेर हेर्दा पनि दिशा त्यतातर्फ देखिँदैन ।
त्यसो भए यो सरकारको दिशा कतातिर जाँदै छ त ?
लोकतन्त्रको आँखाबाट हेरौँ । करिब दुई तिहाइको मतबाट सरकार बन्यो । यति शक्तिशाली सरकारलाई अध्यादेश मोह किन ? शक्तिशाली सरकारलाई संसद् छल्नुपर्ने आवश्यकता किन ? हामीले यस्तै शासक चाहेको हो, जो खोपीमा बसेर हामीले बनाएका संवैधानिक प्रावधानहरू किन भत्काउँदै छन् ?
देशको संविधान यत्तिकै लेख्दिन मन लागेर लेखेको होइन । अमेरिकन स्वतन्त्रता संग्राम, फ्रान्सेली राज्य क्रान्ति, देश विदेशका विभिन्न आन्दोलन र त्यसपछि बनेका विभिन्न अभ्यासबाट शिक्षा लिएर लेखिएको छ । यदि संविधान नै फेर्न चाहेको हो भने हामी निरंकुशतातर्फ फर्किन चाहेको हो ? लोकतन्त्रलाई कमजोर बनाएर हिटलरजस्तो फासीवादी शासक खोजेको हो ? एक, दुई जनाको कुरा होइन, यहाँ ७५ वर्षदेखि लोकतन्त्रको लागि आन्दोलन भयो । आजको परिवर्तन हजारौँको संघर्ष र बलिदानीमा बनेको हो । हामी योभन्दा उन्नत लोकतन्त्रको बाटोमा हिँड्नुपर्ने हो कि लोकतान्त्रिक संस्थाहरू र तिनले बनाएका प्रावधान पनि भत्काउन खोजेका हौँ भन्ने कुरा सरकारको गतिविधिबाट देखिन्छ ।
अर्कोतर्फ, रोजगारी उत्पादन गर्ने सवाल मुख्य हुनुपर्ने हो । यहाँको जिडिपी बढाउने भनेको विशुद्ध अहिले असफल भइसकेको ‘ग्रोथ मोडल’ को मात्रै कुरा पनि होइन । निरन्तर ग्रोथमा जान सक्दैन भन्ने त वल्र्ड बैंक, आइएमएफमै बसेका मानिसहरूले नै भन्न थालिसके । आजको वित्तीय पुँजीवाद जसले कुनै पनि उद्योगधन्दामा लगानी गर्दैन । कुनै पनि सानातिना उद्यमहरुलाई सुरक्षा गर्दैन । हामीले विकासको आफ्नै मोडल बनाउन सक्नुपथ्र्यो । त्यस्तो हुन सकेन ।
भ्रष्टाचारीलाई कारबाही गर्ने कुरा उठेका छन् तर निश्चित मापदण्ड अनुरूप हुन सकेको छैन । जेनजी आन्दोलनको सन्दर्भमा मानव अधिकार आयोगको प्रतिवेदन, सरकारले बनाएका विभिन्न आयोगहरुको प्रतिवेदन सार्वजनिक हुन सकेका छैनन् ।
सरकार बनेपछि पहिलो हमला सुकुम्वासी बस्तीमा भयो । संगठित भएर बोल्ने सामाजिक संघ, संस्थाहरुलाई रोक्न खोजियो । यसले सरकारको लोकतन्त्रप्रति प्रस्ट धारणा नभएको, अपनत्व भएको तथ्यहरूले पुष्टि गरेको छ ।
नेपालको वाम आन्दोलनको अवस्था के छ ? वाम आन्दोलन ओरालो लागेको टीकाटिप्पणी सुनिने गरेको छ ?
नयाँ संविधान जारी भएपछि २०७२ देखि २०८२ सम्ममा आठ वर्षभन्दा बढी समय सम्म त वाम सरकार नै थियो । वामपन्थीहरूले कहाँ लड्ने ? केमा ध्यान दिने भन्ने कुरामा ध्यान पुगेन । हाम्रो ध्यान, आज कसरी नवउदारवादको घोडा चढेर देशमा पुँजीवाद आइरहेको थियो ? वित्तीय पुँजीवादले कसरी हल न चलको स्थिति पैदा गरिरहेको थियो ? पुँजीवादको कस्ता हतकडीबाट हामी बाँधिएका थियौँ भन्नेमा जानुपथ्र्यो तर त्यसो हुन सकेन । गणतन्त्र सँगसँगै पुँजीवाद पनि आयो भन्नेमा अनदेखा ग¥यौँ । समाजवादी अभियान एउटा देशमा मात्रै गर्ने कुरा थिएन । विश्वव्यापी रूपमा गर्नुपर्ने कुरा थियो । यो कुरा नेपालको वामपन्थी आन्दोलनले देखेन । विश्वव्यापी संघर्षको रुप देखेन ।
पुँजीवादले काम गर्नुपर्दा सबैले काम गर्नुपर्ने तर नाफा चाहिँ उनीहरूको हातमा केन्द्रित हुने विश्व प्रणाली बनाएको छ, त्यसले नेपालमा के असर गर्छ भन्नेमा हाम्रो ध्यान पुगेन । वल्र्ड बैंक, आइएमएफ जस्ता संस्थाहरूले ग्लोबल साउथबाट स्रोत दोहन गर्न बनाइएका नीतिहरू नै हाम्रा प्रमुख नीति भए । वामपन्थी अर्थमन्त्रीको प्राथमिकता के हुनुपथ्र्यो ? प्रधानमन्त्रीले समाजवादको यात्रामा कस्तो नीति अवलम्बन गर्नुपथ्र्यो ? त्यतातिर वाम सरकारले मौका पाएर पनि काम गरेन । वामपन्थीहरू वैकल्पिक अर्थ राजनीतिमा चुके, जसका कारण अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याउन सकेनन् । समस्या थुप्रियो, समाधान भएन । त्यसैले असन्तोष जन्मियो ।
हिजोका कर्पोरेटवालाहरुले बनाएको वल्र्ड बैंक र आइएमएफको सिन्डिकेटभन्दा बाहिर लगानीको अवसर पाएको ठाउँमा जान प्रयत्न गर्नुपथ्र्यो । त्यो भनेको ब्रिक्स, छिमेकी देश चीनसँगको सम्बन्ध, विमस्टेक थियो होला । यस्ता ग्लोबल साउथका अन्य प्रयत्नहरू प्रति हामीले नजरअन्दाज गरेकै हो ।
सत्तामा बसिसकेपछि वैकल्पिक प्रयासतिर ध्यान गएन । सत्ता टिकाउने तिर मात्रै ध्यान गयो । हाम्रो आफ्नो विकासको मोडल बनाउन हामी आफैँले केही वैकल्पिक प्रयास थालौँ भन्ने भएन । किनभने गुटबन्दीले पार्टीहरू थिलथिलो भयो । वल्र्ड बैंकले पत्याएकोलाई गभर्नर बनाएपछि के हुन्छ ? वल्र्ड बैंकले पत्याएको मान्छे योजना आयोगमा पठाउन थालेपछि के हुन्छ ? त्यहाँ गएर यो कुरा मान्दैनौँ, यो कुरा मान्न सक्छौँ भन्नसक्ने हाम्रो कुनै खोजी अनुसन्धान भएन । आजको विश्व पुँजीवादलाई बुझ्ने, त्यसले हाम्रो शिक्षा, स्वास्थ्य, रोजगारीको नीतिमा कसरी प्रभाव पारेको छ भनेर बुझ्ने कुरामा हामीले ध्यान दिएनौँ । पार्टीमा उम्मेदवार छान्दा कति खर्च गर्न सक्छ भन्ने आधारमा मात्रै छान्न थालियो । विचारको कुनै मूल्याङ्कन भएन । यसका कारण वामपन्थी आन्दोलन कमजोर भएको हो ।
नेपालको वाम आन्दोलन र परिवर्तनहरूबाट युवाहरू पनि बेखबर भएको हो त ?
हामीले हाम्रो सिद्धान्त, विचार र उद्देश्य नयाँ पीढीका युवाहरूलाई बुझाउन सकेनौँ । उनीहरू बेखबर जस्तै भए । अर्को कुरा, मानव समाजको विविधतालाई प्रयोग गरेर पुँजीवादको शोषणकारी संरचना कायम राख्ने तर शासनमा महिला ल्याउने, महिला राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति, प्रधानन्यायाधीश बनाउने तर रूपान्तरणको काम चाहिँ नगर्ने भयो भने त्यसले कुनै काम गर्दैन । पुँजीवादी शोषण कायम रहन्छ भने त्यो परिवर्तनको कुनै अर्थ रहँदैन । हामी यो अर्थहीन परिवर्तन, रूपान्तरणको बहसमा फसिरहेका छौँ ।
अहिले त पुस्ताको लडाइँ सजिलो भयो । लामो समयदेखि एउटाले खाइरहेको छ त भन्ने । अर्को कुरा, सत्ता र कुर्सी प्रतिको मोह र लोभ त छदैँछ । हामीले धेरै फोहोर गरेका छौँ । पहिला आफ्नो ग्राउन्ड पनि हेर्नुपर्छ जस्तो लाग्छ । पुँजीवाद बुझ्न, अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न, नेतृत्वलाई सजिलै अगाडि बढाउने सन्दर्भमा कमजोरी ग¥यौँ । लोकतन्त्र प्राप्तिको आन्दोलनमा जीवन अर्पण ग¥यौँ भन्यौ तर सत्ताको साँचो आफ्नो हातमा हुँदाखेरी सबैभन्दा अलोकतान्त्रिक व्यवहार देखायौँ । यो कुरा जनताले मन पराएनन् । यो कन्फ्युजन हटाउन व्यवहारमा अब हामी यसो गर्छौ भन्ने केही लोकतान्त्रिक स्किमहरू चाहिन्थ्यो ।
नेतृत्वमा निश्चित उमेर समूहसम्म काम गरौँ भन्ने कुरा पनि बहस भएकै हो । त्यसलाई हटाइयो । पुँजीवादलाई अब के सजिलो भयो भने दोष व्यवस्थाको होइन, फलानो नेताले गर्दा हो भनेपछि पुँजीवाद पनि सुरक्षित भयो । नेता पनि बदनाम भयो । नेता पार्टी र विचारको अगुवा थियो । यसरी विचारमाथि आक्रमण भयो ।
नेतृत्वको सम्मानजनक बिदाइ हुन किन सकेन ?
कम्युनिस्ट पार्टीमा सामूहिक संघर्ष हुन सकेन । समूह निर्माण हुन सकेन । एउटा बुढाको फेरो समातेर अर्को बुढालाई लात्ताले हान्न हामी तयार भयौँ । सबभन्दा सजिलो एउटा बुढाको विरोध गरेर अर्को बुढाको खोपीमा पुग्यौँ । तर त्यहीँ भित्र पनि पुँजीवाद विरुद्धको संघर्षमा आफूलाई अपडेट गर्न अप्ठ्यारो भयो । नेतासँग फोटो खिच्दा र नेताको विरोध गर्दा लाइक ज्यादा आउने भयो । अध्ययन गर्ने परिपाटी भएन । अध्ययन नभएपछि परिस्थिति बुझ्ने कुरा पनि भएन । नेताको इमान, विद्धता हेरेर होइन, फेसबुकमा कति लाइक कसले कमाउँछ भन्ने कुरा नेतृत्वको मापदण्ड बनिसकेपछि उसले गर्ने नै त्यही भयो त्यसैले सिंगो संरचनामा पुँजीवादी हमला भयो ।
गत वर्ष भदौ २३ गते त्यस्तो हुँदै रहेछ । शक्तिशाली प्रधानमन्त्री भएर सरकार चलाइरहेका प्रधानमन्त्रीको पार्टीको विधान महाधिवेशन एक दिन अघि मात्रै सम्पन्न भएको थियो । ‘आजलाई होइन भोलीलाई, दश वर्ष केपी ओलीलाई’ भनेर निर्णय भयो । तर दुई दिनपछि प्रधानमन्त्री निवास बालुवाटारबाट निस्किन पाँच मिनेट मात्रै ढिलो भएको भए म मारिन्थे भनेर प्रधानमन्त्री स्वयंले भन्नुप¥यो । शक्ति र सूचनाको केन्द्रीकरण हुँदा पनि भोली के हुँदैछ भन्ने थाहा नपाउने हुस्सुपन प्रधानमन्त्रीको मात्रै थियो र ? देशभरका नेता, कार्यकर्ता विधान महाधिवेशनमा उपस्थित थिए । पार्टीको अवस्थाका बारेमा, परिस्थितिको बारेमा उनीहरू जानकार थिएनन् र ? अवस्था कुनै नेता, कार्यकर्ताहरूले समेत नबुझेको देख्दा पार्टी नै जनतासँग रहेनछ भन्ने देखियो नि । वामपन्थी आन्दोलनमा सामूहिक सामथ्र्य नै ‘कोल्याप्स्’ भएको छ ।
कम्युनिष्ट पार्टीहरूमा किन टुटफुट भइरहन्छ ?
कम्युनिष्टमात्रै फुट्छन् अरू फुट्दैनन् भन्ने भाष्यबाट मुक्त हुनुप¥यो । संसारमा कम्युनिष्ट पार्टीहरूभन्दा पुँजीवादी पार्टीहरू धेरै छन् । फरक यत्ति हो कि कम्युनिष्ट पार्टीहरूले हँसिया हथौडाको साझा झन्डा संसारभरि एउटै भएकाले कम्युनिष्ट पार्टी देखेपछि कम्युनिष्ट फुटे भन्न सजिलो भयो ।
हाम्रै निर्वाचन आयोगमा दर्ता भएका कति कम्युनिष्ट पार्टी छन् र कति पुँजीवादी पार्टी छन् ? छुट्याएर हेर्दा अधिकांश पुँजीवादी पार्टी छन् । जसले साम्यवादी वा समाजवादी विकल्प प्रस्तुत गरेका छैनन् । अहिले नेपाली कांग्रेसको महाधिवेशन भयो । अर्को समूह पनि महाधिवेशनको तयारी गर्दै छ । कांग्रेस पनि फुट्यो नि । कम्युनिष्टबाहेकका पार्टीहरू पनि फुटिरहेका छन् । त्यसकारण कम्युनिष्ट पार्टीमात्रै विभाजन भइरहन्छन् भन्ने कुरा होइन ।
झलनाथ खनालले समाजवादी जागरण अभियान सुरु गर्नुभएको छ, यसका बारेमा कुनै टिप्पणी ?
अहिले विचारको संक्रमणको बेला हो । समाजवादी जागरण अभियान त जसले चलाउँदा पनि भयो । तर झलनाथ खनालजीहरुको डकुमेन्टमा केही नयाँ देखिएन । के गर्ने हो भन्ने ‘ओरेन्टेशन’ नै छैन । संक्रमणकालीन समय भएकाले टुटफुट भइरहेको छ । थिग्रिने कहाँ गएर भन्ने भएन, बगिरहेको छ । ठूलो साम्राज्यवादी हस्तक्षेप आयो । छिमेकी देश चीनले विकास गरिरहेको कुराले उनीहरूलाई त्यता चासो भयो । साम्राज्यवादी, पुँजीवादीहरूले मानव समाजका विविधतालाई श्रमजीवी वर्गको एकता नहुन प्रयोग गरिरह्यो । हामीले वर्गीय लडाइँमा वर्ग संघर्षको धागोमा उन्न सकेनौँ । यो असक्षमताको माझमा संक्रमण चलिरहेको छ ।
(नेपालको वाम आन्दोलन, यसको भविष्य र सरकारको गतिविधिको विषयमा नेपाली कम्युनिष्ट पार्टीका प्रचार विभाग उपप्रमुख अशेष घिमिरेसँग हिरेन्द्र शाहीले गरेको कुराकानी)













