काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषको नाममा रहेका जग्गाहरूको उपयोगको सम्पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

बिहीबार पशुपति क्षेत्र विकास कोष र पशुपति क्षेत्रको अवलोकन गर्दै समितिले पशुपति क्षेत्रका नाममा रहेको जग्गा र हाल प्रयोग भइरहेको अवस्थाका बारेमा सम्पूर्ण विवरण भाद्र १५ गतेभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिएको हो ।
हालसम्म कोषको नाममा रहेका जग्गा कुन–कुन प्रयोजनका लागि उपयोग भइरहेको छ वा कसले उपभोग गरिरहेको छ भन्ने विस्तृत जानकारी गराउन कोषलाई निर्देशन दिइएको हो ।
समिति सभापति राजकिशोर यादवका अनुसार नियमविपरित अधिकार दुरुपयोग गरेर कोषको जग्गा प्रयोजनका लागि दिइएको पाइए समितिले कारबाहीको सिफारिस गर्ने बताए ।
उनले पशुपति गुरुयोजनाका बारेमा समेत विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको जानकारी दिए । कोषले उपलब्ध गराउने कागजात अध्ययन गरेर समितिले थप निर्णय गर्ने उनको भनाइ छ ।














