
काठमाडौं । पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । आज बिहान पहिरो खस्दा गजुरी गाउँपालिका–६ स्थित जरेखेत, गजुरी गाउँपालिका–४ स्थित जरे पुल र थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सातकिलोमा सडक अवरुद्ध भएको थियो ।
जरे खेत र जरे पुलमा एकतर्फी र थाक्रे गाउँपालिका–७ स्थित सात किलोमा दुईतर्फ नै सवारी चल्न थालेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका एसपी नरेश सुवेदीले बताए ।
बिहानैदेखि सड्क अवरुद्ध भएसँगै राजमार्गमा ७८० वटा सवारी होल्ड गरिएको छ । आदमघाट, मलेखु, सिम्ले, मझिमटार, खानीखोला, महादेववेशी, गजुरी र बेनिघाटमा सवारी साधन होल्ड गरिएको र विस्तारै पठाउन थालिएको एसपी सुवेदीले बताए ।














