काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौं सरुवा गरिँदै छ । उनलाई आज दिउँसो ३:१० को बुद्ध एयरको उडानमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको जनाएको छ ।

बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा थिए । उनले गत जेठमा नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए, जसलाई अदालतले स्वीकृति दिए पनि गृह प्रशासनले रोकेको थियो ।
राष्ट्रिय मानव अधिकार आयोगको टोलीले केही दिनअघि कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा आफ्नो ज्यान असुरक्षित रहेको बताएका थिए । सोही कारण सरकारले उनलाई काठमाडौं स्थानान्तरण गर्न सहमत भएको हो ।














