
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्ति स्थापनाका लागि राखेको सर्त युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अस्वीकार गरेका छन् । शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पुटिनबीच अमेरिकाको अलास्कामा युक्रेनमा शान्ति स्थापनाबारे तीन घन्टा छलफल भएको थियो ।
रोयटर्सका अनुसार छलफलका क्रममा पुटिनले युक्रेनको भूभाग दाबी गरेको र सो कुरा ट्रम्पले पछि जेलेन्स्कीलाई फोनमा जानकारी गराएका थिए । पुटिनले किभ सम्पूर्ण दोनेत्स्क प्रान्त त्याग्न तयार भए फ्रन्टलाइनका मोर्चाहरू स्थिर राख्ने प्रस्ताव गरेको रोयटर्सले जनाएको छ ।
दोनेत्स्क मस्कोको मुख्य लक्ष्य बनेको औद्योगिक क्षेत्र हो । तर, युक्रेनी राष्ट्रपति भोलोदिमिरले उक्त प्रस्ताव ठाडै अस्वीकार गरिदिएका हुन् । जेलेन्स्कीले रूसले युक्रेनको पाँच भागको एक भाग जमिन कब्जा गरिसकेको बताएका छन् । त्यसमध्ये दोनेत्स्कको एक चौथाइ भूभाग अगाडि नै कब्जा गरिसकेको बताएका छन् ।
जेलेन्स्कीले यसअघि नै युक्रेनी भूभाग रूसलाई दान दिन आफू तयार नभएको बताउँदै आएका थिए । ट्रम्पले युक्रेन स्थायी शान्तिका लागि तयार हुनुपर्ने पनि बताएका छन् ।
उनले रूस युक्रेनको तुलनामा कैयौं गुणा शक्तिशाली भएकाले ऊ शान्तिका लागि आवश्यक सम्झौताका लागि तयार हुनुपर्ने बताएका थिए ।
ट्रम्पले जेलेन्स्कीलाई पुटिनसँग भएको वार्ता, रूसको माग र वार्ताबारे छलफल गर्न वाशिङ्टन डिसी बोलाएका छन्। त्यसका लागि सोमबार जेलेन्स्की ह्वाइट हाउस पुग्नेछन्। जेलेन्स्कीसँगै एक जना युरोपेली नेताहरू पनि ह्वाइट हाउस पुग्ने बताइएको छ । सोमबारको छलफलपछि चाँडै पुटिनसहित त्रिपक्षीय छलफल हुने सम्भावना छ ।











