काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे-नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले यो जानकारी साझा गर्दै सुरुङमार्ग चाँडै सञ्चालनमा आउने र नागढुङ्गा क्षेत्रमा यात्रा गर्दा हुने असुविधा हट्ने उल्लेख गरेका छन् ।

उनले हालसम्म सुरुङमार्गको भौतिक प्रगति ९३ प्रतिशत पूरा भएको जानकारी दिए ।सरकारले हालै सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्क निर्धारण गरेको छ । जसअनुसार सङ्घीय राजधानी प्रवेश गर्ने कार र भ्यानले ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
मिनिबस र मिनिट्रकका लागि काठमाडौं आउँदा ११५ रुपैयाँ र फर्कँदा ८० रुपैयाँ, बस र ट्रकका लागि आउँदा २६० रुपैयाँ र फर्कँदा २०० रुपैयाँ, र भारी सवारीसाधनका लागि आउँदा ६०० रुपैयाँ र फर्कँदा २०० रुपैयाँ शुल्क तोकिएको छ ।
यो सुरुङमार्ग सञ्चालनमा आएपछि यात्रा समयको बचत हुने र ढुवानी खर्च घट्ने अपेक्षा गरिएको छ । कुल २.६८८ किलोमिटर लामो यो सुरुङमार्गमा ३.५ मिटर चौडाइका दुई लेन र दुवैतर्फ नालीको व्यवस्था छ ।














