Logo
Logo

कांग्रेस नेता राजु गोर्खाली, जो १० करोडको चेक बाउन्समा पक्राउ परे


4.5k
Shares

काठमाडौं । गुन्डा नाइकेको रूपमा परिचित राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) चेक बाउन्स मुद्दामा पक्राउ परेका छन्।

काठमाडौं जिल्ला प्रहरी परिसरको विशेष टोलीले उनलाई नियन्त्रणमा लिएर भद्रकालीस्थित हिरासतमा राखेको छ। प्रहरीले जनाएको अनुसार गोर्खालीमाथि १० करोड रुपैयाँको चेक बाउन्स प्रकरण जोडिएको छ। तर, पीडितको नाम सार्वजनिक गरिएको छैन। उक्त रकम के प्रयोजनका लागि कारोबार भएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बैंकिङ कसुरअन्तर्गत म्याद थप गर्दै अनुसन्धान अघि बढाइने बताइएको छ।

गोर्खाली २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसबाट सिन्धुपाल्चोक–२ का लागि उम्मेदवार सिफारिसमा परेका थिए। तर अन्ततः उनले टिकट पाएनन्।

चावहिलका स्थानीय बासिन्दा रहेका गोर्खाली लामो समयदेखि राजधानीलाई आधार बनाएर गुण्डागर्दी, गिटी–बालुवाको अवैध कारोबार लगायत गतिविधिमा संलग्न रहँदै आएका छन्। केही वर्षअघि राजधानीस्थित बेबिलोन डिस्कोमा उनले राकेश लिम्बुको हत्या गरेका थिए। त्यसबेला उनी डिस्को सञ्चालक थिए। हत्या प्रकरणपछि लामो समय फरार रहेका गोर्खाली पछि पक्राउ परे र अदालतबाट तोकिएको सजायँ भुक्तानी गरेर रिहा भएका थिए।

राजनीतिक शक्ति नजिकिने प्रवृत्तिका कारण उनले २०७४ सालको निर्वाचनमा राप्रपा प्रवेश गरेका थिए। राजधानीको सिभिल मल ठेक्का लिएर असुली गर्दै आएको आरोप पनि उनीमाथि छ।

हाल उनी नेपाली कांग्रेस सिन्धुपाल्चोकका महासमिति सदस्य छन्। कांग्रेसको १४औँ महाधिवेशनमा लोकप्रिय मत पाएर उनी क्रमशः महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्य निर्वाचित भएका थिए। त्यही हैसियतमा उनले प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस पाए पनि अन्तिममा टिकट पाएनन्।

गुण्डागर्दी र अवैध व्यापारबाट आर्जित अकुत सम्पतिको बलमा राजनीतिमा प्रवेश गरेका गोर्खाली २०७८ सालमा सम्पन्न कांग्रेसको क्षेत्रीय र जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधि चयन हुन ठूलो धन खर्च गरेको आरोप लाग्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्