काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दलले पाँचौं महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । कांग्रेसले अनुमोदन गरी उक्त कार्यतालिका ल्याइएको हो । उक्त कार्यतालिका तरूण दलले ७७ जिल्ला कार्यसमितिमा पठाइसकेको जनाएको छ ।

तरूण दलको लामो समयदेखि महाधिवेशन हुन नसकेपछि कांग्रेसले निर्देशन समिति बनाएर महाधिवेशन गराउन लागेको हो । गत चैतभित्र कांग्रेसले १३ भ्रातृ संस्थालाई महाधिवेशन गर्न भनेपनि ५ भ्रातृ संस्थाले मात्रै महाधिवेशन गरेका थिए ।
विद्वान गुरूङ अध्यक्ष रहेको तरूण दल तदर्थ कार्यसमितिलाई महाधिवेशन गराउन अन्तिमपटक म्याद दिइएको थियो ।
यस्तो छ कार्यतालिका :
१. २०८२ भदौ १५ गतेभित्र दलको पूर्ण सदस्यता वितरण गरी वडा र पालिकाको अधिवेशन सम्पन्न गर्ने ।
२. २०८२ साल भदौ मसान्तभित्र दलको केन्द्रीय कार्यालयबाट पूर्ण सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय र जिल्ला अधिवेशन प्रतिनिधि अनुमोदन गरिसक्ने ।
३. २०८२ साल कार्तिक २० गतेभित्र प्रदेश सभा निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्ने ।
४. २०८२ साल कार्तिक मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने ।
५. २०८२ साल मंसिर १० गतेभित्र सातै प्रदेशको अधिवेशन सम्पन्न गर्ने ।
६. नेपाल तरूण दलको गौरवमय पाँचौं महाधिवेशन २०८२ साल मंसिर २६, २७ र २८ गते सम्पन्न गर्ने ।














